२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


पहिरोको त्रासः हिउँदमा जाजरकोट, वर्षामा रुकुम


0
Shares

जाजरकोट, साउन १९ । बर्सेनि वर्षायाम सुरु हुनेबित्तिकै पहिरोको डरले ओलगुत्ताकाका बासिन्दालाई घर छाडेर छिमेकी जिल्ला जानुपर्ने बाध्यता छ ।

स्थानीय नलगाड नगरपालिका–१३, ओलगुत्ताका बासिन्दा वर्षौंदेखि यसरी नै बसोबास गर्दै आएका हुन् ।

असार, साउन र भदौ महिनामा करिब ५० घरधुरीका बासिन्दा आफ्नो घर र जग्गा छाडेर जीवन बचाउन रुकुम, आठबीसकोट नगरपालिकाको वडा नम्बर–६ मा बस्दै आएका छन् ।

पानी पर्नेबित्तिकै घरमाथि रहेको ठूलो पहाडबाट ढुंगा खस्ने र पहिरो आउने डर भएकाले घर छाड्न बाध्य हुनुपरेको स्थानीय तेजबहादुर विकले बताए ।

यस ठाउँमा पटक–पटक पहिरो आएर एकदर्जन मानिसको मृत्यु भइसकेको छ ।

पहिरोका कारण यहाँका बासिन्दाले घाँस, दाउरा गर्न र घरपालुवा जनावरलाई चरनका लागि लैजान पनि डराउने गरेको उनको भनाइ थियो ।

जोखिममा रहेका यो बस्तीका बासिन्दालाई सुरक्षित ठाउँमा सार्न कुनै पहल नहुँदा उनीहरू बर्सेनि घर छाड्न बाध्य भएका हुन् ।

पानी नपरेको समयमा दिउँसो गएर घरको काम गर्ने तर सुत्न भने रुकुम नै आउने गरेको अर्का स्थानीय शुक्रराज सिंहले जानकारी दिए ।

यहाँ रहेका स्वास्थ्य संस्था र विद्यालयमासमेत माथि रहेको पहाडबाट पहिरो आउँछ कि भनेर हेर्दै काम गर्नुपरेकोे शिक्षक भोलीप्रसाद विष्टले पीडा सुनाए ।

सन्चार सेवासमेत भरपर्दो नभएको यस ठाउँमा कतिबेला के हुन्छ भन्न नसकिने उनको भनाइ थियो ।

भेरी नदीको किनारमै रहेको यो बस्ती जाजरकोटको अतिविकट स्थान मानिन्छ । रासस