Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


महाकाली पुलको डिजाइन परिवर्तन


0
Shares

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित ओदालीमा निमार्णाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ ।

पुल निमार्ण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो ।

पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुंगा व्यवस्थापनमा बिरोध गरेका कारण ढुंगाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताउनुभयो ।

निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्ढा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षति गरेको जनाएको छ । निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुंगा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुंगा आवश्यक पर्छन् ।

आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका बिरोधका बीच ढुंगा व्यवस्थापन गर्न नसकिएको हो । बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षति गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण सुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो ।