Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


गौतम बुद्ध विमानस्थलमा पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुन्छ– महानिर्देशक क्षेत्री

‘पोखरा विमानस्थलमा ६ महिनामा परीक्षण उडान गर्छौं’

0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभएको छ ।

बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा महानिर्देशक क्षेत्रीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक काम लगभग सकिसकेको बताउँदै अबको ५ महिनामा अन्तर्राष्ट्रिय उडान हुने बताउनुभयो । उहाँले अबको एक महिनामा परीक्षण उडान गर्ने र त्यसबीचमा आफ्ना आन्तरिक गृहकार्य सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले नाकाबन्दी, भूकम्प, आन्तरिक गृहकार्यमा ठेकेदारले पैसाको जोहो गर्न नसक्नु, स्थानीय निकायसँगको समन्वय गर्न नसक्नु, कोभिड १९, केलिब्रेशन फ्लाइट हामीसँग नभएर विदेशीलाई पैसा तिरे पनि गुहार्नुपर्ने कारणले ढिलो भएको बताउनुभयो ।

उहाँले एरो थाइले पहिलेको सहमतिअनुसार नै परीक्षण उडान गरिदिने भएको जानकारी दिँदै अब सस्तो र राम्रो कम्पनीलाई छानेर परीक्षण उडान भर्ने बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको काम ८० प्रतिशत सकिएको पनि जानकारी दिनुभयो । उहाँले सरकारले रिट्ठेपानी डाँडा काट्ने काम गरिदिए र ल्याण्डफिल्ड बनाइदिए अबको ६ महिनामा परीक्षण उडान हुने बताउँदै एक वर्ष भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भर्न सकिने बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले युरोपियन युनियन (इयू)ले नेपालको एयरलाइन्सलाई ब्ल्याक लिस्ट (कालोसूची)मा राखेकोले त्यसबाट हटाउन आफ्नो नेतृत्वमा काम भइरहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालनमा ल्याउने, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सञ्चालन योग्य बनाउने बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले आफ्नो पहलमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर टेस्ट गर्दा लाग्ने शुल्क २ हजारबाट १ हजार २ सयमा झारेको बताउनुभयो ।

महानिर्देशक क्षेत्रीले कोरोनाका कारणले काममा केही असर गरे पनि काम नरोकिएको बताउनुभयो । ‘केही असर गरेको छ, केही काम रोकिएका छन्, तर काम अब सुचारु भइसकेको छ केही ढिला मात्रै भएको हो,’ उहाँले भन्नुभयो, ‘पोखरा विमानस्थलमा भैरहवा भन्दा राम्रो विमानस्थल बन्नेछ ।’

क्षेत्रीले निजगढ विमानस्थलको काम पनि सुरु भइसकेको र लगानीको जोहो कसरी गर्ने ? कुन मोडलमा गर्ने ? भन्ने निर्णय गरे प्राधिकरण तयार रहेको बताउनुभयो ।