Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


लुम्बिनी र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध


0
Shares

भैरहवा, पुस २६ । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका र स्पेनको काथेरेस नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।

शनिबार लुम्बिनीको मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र विश्वसम्पदा सूचीमा सूचीकृत काथेरेस नगरपालिकाका प्रमुख लुइस सलया जुलियनबीच भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रदेश नम्बर–५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी र स्पेनको एक्स्त्रेमादुरा प्रदेशका पर्यटन, संस्कृति तथा खेलकुदमन्त्री नुरीया फ्लोरेस रेडोन्डोको सहभागितामा भगिनी सम्बन्ध विस्तार गर्ने सम्झौतामा हस्ताक्षर गरिएको हो ।

यसैगरी, स्पेनको लुम्बिनी गार्डेन फाउन्डेसन र रुपन्देही, कपिलवस्तु र नवलपरासी जिल्लाका केही नगरपालिका तथा गाउँपालिकाबीचमा पनि भगिनी सम्बन्ध विस्तारका लागि हस्ताक्षर भएको छ ।

लुम्बिनी गार्डेन फाउन्डेसनका अध्यक्ष जोस म्यानुयल भिलानोभासँग रुपन्देहीको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसी, नवपरासीको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ता, कपिलवस्तुको कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठ, रुपन्देहीको मायादेवी गाउँपलिकाका प्रमुख ध्रुवनारायण चौधरी, गैँडहवा गाउँपालिकाका प्रमुख बच्चुलाल केवट, शुद्धोधन गाउँपालिकाका प्रमुख निसार अहमद खानले भगिनी सम्बन्धमा हस्ताक्षर गरेका छन् ।