२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


हराएका बालबालिका कहाँ पुग्छन् ? (भिडियो)


0
Shares

लक्ष्मी लामा/सिर्जना थापा/राजेन्द्र नापित (इमेज)

काठमाडौं, साउन १८ । बाल्यकाल भविष्यको गोरेटो कोर्ने स्वर्णीम समय हो । नेपालमा वर्षेनि कैयौं बालबालिका हराउने गरेका छन् ।

तीमध्ये कोही त फेलापर्छन् । तर, कोही भने कहाँ पुग्छन् ? पत्ता लाग्दैन ।

अर्कोतिर फेलापरेका बालबालिकाको सही सूचना नदिँदा हराउने बालबालिकाको यकिन तथ्यांक पाउन कठिन छ ।

उपत्यकामा गत आर्थिक वषमा २८३ बालबालिका हराएको निवेदन पर्‍यो । जसमध्ये २३२ बालबालिकामात्रै फेलापरे । बाँकी ५१ जनाको खोजतलास जारी छ ।

त्यस्तै, सोही समयमा उपत्यकामा रहेका ३०८ बेवारिसे बालिबालिकामध्ये १८२ जनाको परिवारसँग पुनर्मिलन भयो । १२६ बालबालिकालाई विभिन्न बालगृहमा राखिएको छ ।

उपत्यकाका विभिन्न स्थानबाट २५७ सडक बालबालिकाको उद्धार गरिएको छ ।

बालबालिका तथा खोजतलास समन्वय केन्द्रको स्थापना भएदेखि हालसम्म २१ हजार ५९५ बालबालिका हराएको उजुरी परेको छ ।

१० वर्षको तथ्यांकअनुसार हराएर अभिभावक नभेटिएका ९०० बालबालिकालाई विभिन्न संघ–संस्थामा राखिएको छ ।

विभिन्न कारणबाट हराएका बालबालिकालाई कसैले भेट्टाएमा बालबालिका खोजतलास समन्वय केन्द्रसँग सम्बन्धित संस्थामा जिम्मा लगाउने गरिन्छ ।

त्यस्ता संस्थामा रहेका बालबालिकालाई उनीहरुकोे इच्छाअनुसार पढ्न, सीप सिक्न लगाइने बालबालिका तथा खोजतलास समन्वय केन्द्रका डीएसपी सीताराम रिजालले बताए ।

हरेक दिन देशभरिबाट ५/६ जना बालबालिका हराएको निवेदन आउने गर्दछ । तर, त्यो संख्याभन्दा ७५ प्रतिशत बढी बालबालिका फेलापर्ने गरेका छन् ।

फेलापरेका बालबालिकाको जानकारी अभिभावकले समयमा नदिँदा यकिन तथ्यांकमा समस्या रहेको रिजालको भनाइ छ ।

यस्ता बालबालिकालाई सरकारले गर्ने भनेको प्राथमिक बचाउ र संरक्षणमात्र होे ।

भिडियो हेर्नुहोस्