Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


प्रधानन्यायाधीशरहितको इजलास गठन गर्न नेपाल बारको माग

एक घण्टा कालो पट्टी बाँधेर विरोध गर्ने

0
Shares

मिरा बस्नेत
काठमाडौं । नेपाल बार एशोसियसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतको इजलासमा नबस्न जोडदार माग गरेको छ ।

उपत्यका बार एकाइहरुका अध्यक्षसहितको सुझाव अनुसार शुक्रबार बसेको कार्यसमितिको बैठकले प्रधानन्यायाधीश जबराबाट विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिका स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै राजीनामाको माग गरेको बारका महासचिव लिलामणि पौडेलले जानकारी दिनुभयो ।

यस्तै, बारको बैठकले कात्तिक १४ गतेदेखि १७ गतेसम्म बिहान १० देखि ११ बजेसम्म कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने निर्णय पनि गरेको छ । जसमा सक्रियतापूर्वतक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाईलाई पनि अनुरोध गर्ने भएको छ ।

बैठकले कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने निर्णय पनि गरेको महासचिव पौडेलले बताउनुभयो । बारले आफ्नो निर्णयहरु कार्यान्वयनका लागि देशभरका ९० वटा बार एकाईहरुमा अनुरोध गर्दै अध्यक्ष र सचिवहरूसँग छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने भएको छ ।

बारले कात्तिक १७ गतेसम्म प्रधानन्यायाधीशको राजीनामा नआए थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने निर्णय गरेको छ ।