Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


राष्ट्रियसभा सदस्यका लागि मनोनयपत्र दर्ता आइतबार


0
Shares

काठमाडौं, पुस १८ । राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।

निर्वाचन आयोगकाअनुसार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ ।

उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

महिला, दलित वा अल्पंख्यक समुदाय वा आर्थिकरुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

मनोनयनको औपचारिक पत्र, दलित, अल्पसंख्यक वा अपांगता भएका समूहबाट निर्वाचित हुने पदका लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्ने छ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचनमन्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण पनि पेस गर्नुुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीयरुपमा सम्पन्न गर्ने/गराउने कार्यमा सबैको सहयोग र सहभागिताका लागि आयोगले अनुरोध गरेको छ ।

कुल ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदैछ ।

त्यसमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एकजनाको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ । रासस