Logo २३ असार २०८३, मंगलबार | Wed Jul 8 2026


उखु किसानको भुक्तानी पुस २५ भित्र गर्न कनोडियालाई कांग्रेसको निर्देशन


0
Shares

काठमाडौं, पुस १८ । नेपाली कांग्रेसले महालक्ष्मी सुगर मिलका सन्चालक वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी तत्काल गर्न निर्देशन दिएको छ ।

प्रदेश नम्बर–५ का प्रदेशसभा सदस्यसमेत रहेका उनलाई यही पुस २५ गतेभित्र किसानको बाँकी रकम भुक्तानी गर्न निर्देशन दिइएको हो ।

कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य बनेका कनोडियालाई सो मितिभित्र किसानको रकम भुक्तानी गरेर त्यसको जानकारी कांग्रेस केन्द्रीय कार्यालयलाई गराउन भनिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शमाले शुक्रबार दिउँसो ट्वीट गर्दै यस्तो जानकारी दिएका हुन् ।

‘श्री वीरेन्द्र कनोडिया, सांसद, प्रदेश ५ । उखु किसानलाई पुस २५ भित्र रकम भुक्तानी गरेर सोको जानकारी केन्द्रीय कार्यालयलाई गराउनु हुन यहाँलाई सार्वजनिक सूचना जारी गरिएको छ’–प्रवक्ता शर्माको ट्वीटमा लेखिएको छ । 

कनोडिया सर्लाहीको गोडैटा नगरपालिका–६, बगदहस्थित महालक्ष्मी सुगर मिलका मालिक हुन् । उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट प्रदेशसभा सदस्य बनेका हुन् ।

यसअघि, बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले किसानहरुलाई तत्काल रकम भुक्तानी गर्न चिनी उद्योगीहरुलाई अपिल गरेको थियो । त्यसको प्रभावकारी पहल गर्न सरकारसित मागसमेत गरेको थियो ।

उखुको रकम भुक्तानी नपाएका किसानहरु पछिल्लो समय राजधानी आएर आन्दोलनरत् छन् ।