
पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समस्या समाधान गर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय उडानका लागि अवरोधको रूपमा रहेको रिठ्ठेपानी डाँडा कटानका लागि सहजीकरण गर्ने र विमानस्थलको उत्तरपट्टीको बाढी तथा पूर्वपट्टीको कटान नियन्त्रणमा संघ सरकारले बजेट छुट्याउने उहाँले बताउनुभयो ।
सोमबार निर्माणाधिन विमानस्थलको अवलोकनमा जानुभएका देउवालाई आयोजना प्रमुख विनेश मुनकर्मीले हालसम्मको प्रगति र समस्याकाबारेमा जानकारी गरानुभएको थियो । रिठ्ठेपानी डाँडा कटानमा पूरक इआइए आवश्यक पर्ने र त्यसका लागि ३ महिना समय लाग्ने जानकारी नागरिक उड्डयन प्राधिकरणका प्रदीप अधिकारीले गराउनुभएको थियो ।
जवाफमा प्रधानमन्त्री देउवाले इआइए गर्दै गर्ने र डाँडा कटान पनि नरोक्न सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । बर्खामा उत्तरपट्टीबाट विमानस्थलभित्र प्रवेश गर्ने बाढी र बाढीले पूर्वपट्टी गरिरहेको कटान नियन्त्रणमा लाग्ने झण्डै ३४ करोड रूपैयाँको व्यवस्थापन संघ सरकारले गर्ने उहाँको बताउनुभयो ।
आयोजना कार्यालय र प्रधानमन्त्री बीचको छलफलमा भने सञ्चारकर्मीलाई प्रवेश दिइएको थिइएन । साक्षर गण्डकी प्रदेश घोषणा कार्यक्रममा आइतबार सेनाको हेलिकप्टरबाट पोखरा आउनुभएका देउवा सोमबार पोखरा विमानस्थलबाट हेलिकप्टरमै निर्माणाधीन विमानस्थल पुगेका थिए । विमानस्थल अवलोकनपछि उहाँ काठमाडौं फर्कनुभएको छ ।
हालसम्म विमानस्थलको ८५ प्रतिशत काम सकिएको छ । सन् २०२२ जनवरी १ बाट आन्तरिक र २०७९ वैशाख १ बाट अन्तर्राष्ट्रिय उडानसञ्चालन गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्