
रमेश गिरी (रासस)
भक्तपुर, साउन १७ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा–१२ का विद्यार्थीलाई एक विषयमामात्रै ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ ।
कक्षा–१२ को नतिजा प्रकाशित गर्न बिहीबार बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्था नगरेको बताए ।
नियमित परीक्षामा सहभागी भइ अन्य सबै विषयमा ‘सी’ वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी कुनै एक विषयमामात्रै अनुपस्थित भएका वा ‘डी प्लस’, ‘डी’, वा ‘इ’ ग्रेड प्राप्त गरेका विद्यार्थीलाई उक्त विषयको ग्रेडवृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुन मौका दिइएको छ ।
यसबाहेक अरू ग्रेड ल्याएका र एकभन्दा बढी विषयमा ग्रेडवृद्धि गर्न चाहने विद्यार्थीका लागि भने बोर्डले यो मौका दिएको छैन ।
विद्यार्थीले चाहेर पनि एकभन्दा बढी विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाउने बाध्यकारी व्यवस्था बोर्डले गरेको छ ।
उपाध्यक्ष पौडेलले भने–‘निश्चित एक विषयमाभन्दा बढी विषयमा ग्रेड अर्थात् पूरक परीक्षामा सहभागी हुन पाइने छैन । एकभन्दा बढी विषयमा ग्रेडवृद्धि परीक्षा दिन चाहने विद्यार्थीले भने एक वर्ष कुरेर नियमित परीक्षा तालिकाअनुसारको बोर्ड परीक्षा दिनुपर्ने व्यवस्था गरिएको छ ।’
यसका लागि बोर्डले आउँदो भदौ १६ गते शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने गरी एक दिनमात्रै ग्रेडवृद्धि अर्थात् पूरक परीक्षा सन्चालन गर्ने भएको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीले भदौ १० गतेभित्र आवेदन फाराम र शुल्क बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।
बोर्डले ‘ए प्लस’, ‘ए’, ‘बी प्लस’, ‘बी’, ‘सी प्लस’ र ‘सी’ प्राप्त गर्ने विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्र आगामी २१ दिनपछिमात्रै उपलब्ध गराउने र ‘डी प्लस’को हकमा भने ग्रेडवृद्धि परीक्षामा सहभागी नहुने भएमामात्रै यस्ता प्रमाणपत्र दिइने उनको भनाइ थियो ।
आफूले प्राप्त गरेको ग्रेड चित्त नबुझेमा विद्यार्थीले प्रतिविषय रु ५०० दस्तुर तिरेर आगामी १५ दिन अर्थात् भदौ १ गतेभित्र बोर्ड वा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन दिने व्यवस्था गरिएको छ ।
विद्यार्थीको ट्रान्सक्रिप्ट, माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रमा कुनै त्रुटि भएमा आगामी चार महिनाभित्र आवेदन दिएर सच्याउन पाउने व्यवस्था गर्दै त्योभन्दापछि आएको आवेदनमा कुनै सुनुवाइ नहुने व्यवस्था बोर्डले गरेको छ ।
बोर्डले बिहीबार ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको नतिजामा नियमिततर्फ ३.६१ देखि ४ जीपीए ल्याउनेमा ११ हजार १६९ परीक्षार्थी रहेका छन् ।
यस्तै, ३.२१ देखि ३.६० जीपीए ल्याउने ११ हजार २२१, २.८१ देखि ३.२० जीपीए ल्याउनेमा ५८ हजार ३४५, २.४१ देखि २.४० जीपीए ल्याउने ९० हजार २९९ परीक्षार्थी छन् ।
यस्तै, १.६१ देखि २.० जीपीए ल्याउने ६६ हजार ४३८, १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७३४, ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४८८ र ०.०० देखि ०.८० जीपीए ल्याउने १९९ जना रहेका छन् ।
गत वैशाखमा सन्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६७५ विद्यार्थी सहभागी भएका थिए भने परीक्षामा ९७ विद्यार्थीको परीक्षा रद्द गरिएको र दुईजनाको परीक्षाको नतिजा स्थगित गरिएको छ ।
त्यसैगरी, आंशिकतर्फ एक लाख १७ हजार ४१४ परीक्षार्थी सहभागी रहेकामा ४१ हजार ३२५ अर्थात् ३५.२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डका उपाध्यक्ष पौडेलले जानकारी दिए ।
आंशिकतर्फ २० परीक्षार्थीको परीक्षा रद्द गर्नुका साथै ४ परीक्षार्थीको नतिजा स्थगित गरिएको छ ।
परीक्षाफल बोर्डको वेबसाइट www.neb.gov.np तथा नेपाल टेलिकमको वेबसाइट www.neb.gov.np लगायतमा हेर्नसकिने बोर्डले जनाएको छ ।
यस्तै, नेपाल टेलिकमको मोबाइलमा १६०१ मा एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्नसकिन्छ ।
नेपाल टेलिकमको आइभीआर सेवाअन्तर्गत् १६०१ नम्बर डायल गरेर प्राप्त निर्देशनअनुसार पनि नतिजा थाहा पाउनसकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्