११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


सुदूरपश्चिम स्पोर्ट्स अवार्डः प्रिन्स र कविता उत्कृष्ट खेलाडी


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, पुस १५ । ब्याटमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुँवर सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पहिलोपटक आयोजित ‘कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’मा उनीहरु वर्षका ‘उत्कृष्ट खेलाडी’ बन्न सफल भएका हुन् ।

मंगलबार खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा एक कार्यक्रम आयोजना गरी अवार्ड वितरण गरेको हो ।

‘उत्कृष्ट पुरुष खेलाडी’

वर्षको ‘उत्कृष्ट पुरुष खेलाडी’मा क्रिकेटका खड्ग बोहोरा र भारोत्तोलनका सागर भण्डारी पनि मनोनयनमा परेकामा ब्याटमिन्टनका दाहालले अवार्ड जिते ।

‘उत्कृष्ट महिला खेलाडी’

वर्षको ‘उत्कृष्ट महिला खेलाडी’ बन्न सफल कविताले कुस्तीकी संगीता धामी र हक्कीकी विन्दु विष्टलाई पछि पारिन् ।

‘उत्कृष्ट प्रशिक्षक’

वर्षको ‘उत्कृष्ट प्रशिक्षक’को अवार्ड भारोत्तोलनका जीवन गौतमले जिते । यो विधामा उनीसँगै कुस्तीका राजेन्द्र चन्द र क्रिकेटका ज्ञानेन्द्र क्षेत्री मनोनयनमा परेका थिए ।

‘उत्कृष्ट युवा खेलाडी’

वर्षको ‘उत्कृष्ट युवा खेलाडी’ भारोत्तोलनका सागर भण्डारी घोषित भए । यो विधामा सागरसहित फुटबलकी चन्द्रा भण्डारी र उसुकी अलिशा खाती मनोनयनमा थिए ।

स्पेसल अवार्ड

यस्तै, ‘स्पेसल अवार्ड’ कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दीपक सिंहलाई प्रदान गरिएको छ ।

आफ्नो तीनवर्षे कार्यकालमा खेलकुदको विकासमा महत्वपूर्ण योगदान दिएको भन्दै उनलाई स्पेसल अवार्डबाट सम्मानित गरिएको हो ।

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ सुदूरपश्चिम प्रदेशको खेलजगतका हस्ती श्यामसुन्दर शर्मालाई प्रदान गरिएको छ ।

उनलाई क्रिकेट र फुटबलमा लामो समयसम्म योगदान दिएवापत् लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

अवार्ड विजेताहरुलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।

विजेता चार विधाका खेलाडीलाई जनही २५ हजार र लाइफटाइम तथा स्पेसल अवार्ड विजेतालाई जनही १० हजार रुपैयाँसहित सम्मानित गरिएको हो ।