
काठमाडौं, पुस १५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले लगातार दोस्रो हार व्यहोरेको छ ।
सुरुआती दुई खेलमा बराबरी खेलेको शेर्पाले त्यसपछिका दुई खेल हारेको हो ।
मंगलबार चौथो खेलमा शेर्पालाई ब्रिगेड ब्वाइज क्लब (बीबीसी)ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा बीबीसीलाई १–० ले जिताउनेक्रममा खेलको १७औं मिनेटमा विजय गुरुङले निर्णायक गोल गरे ।
मैदानबाट बाहिर
शेर्पाका निरज बस्नेत ‘इन्जुरी’ समयको दुई मिनेटमा दुईओटा पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिनुपरेको थियो ।
जावलाखेलले च्यासललाई हरायो
मंगलबारै भएको पहिलो खेलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबलाई २–० ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्समा भएको खेलमा रुपबहादुर लामा र विजय घलानले खेलको ८० र ८२औं मिनेटमा एक/एक गोल गरे ।
अड्किए सन्तोष साहुखल
यो खेलमा पनि गोल गर्न नसकेपछि च्यासलका सन्तोष साहुखल लिगमा ९९ गोलमै अड्किएका छन् ।
सुरुआती दुई खेलमा ३ गोल गरेका साहुखल त्यसपछिका दुई खेलमा गोलविहीन बनेका छन् ।
अंकतालिका
मंगलबारका खेलपछि अंकतालिकामा मनाङ–मर्स्याङ्दी क्लब १० अंकसहित शीर्ष स्थानमा कायमै छ ।
९ अंकको मच्छिन्द्र क्लब दोस्रो, ८ अंकको जावलाखेल तेस्रो, ७ अंकको थ्रीस्टार चौथो तथा त्रिभुवन आर्मी क्लब र बीबीसीको समान ६/६ अंक भएको छ ।
बुधबारका खेल
लिगअन्तर्गत् बुधबार पनि दुई खेल हुँदैछन् । एन्फा कम्प्लेक्सको मैदानमा हुने खेलमा बिहान साढे ११ बजे संकटा क्लब र नेपाल पुलिस क्लब तथा दिउँसो ३ बजे आर्मी र थ्रीस्टार भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्