Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


देशमै पहिलोपटक डिजिटल अपाङ्ग परिचयपत्र


0
Shares

कास्की । माछापुच्छ्रे  गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिलाई देशमै पहिलोपटक डिजिटल परिचयपत्र वितरण शुरु गरिएको छ ।

गाउँपालिकामा रहेको अपाङ्गता समन्वय समिति र राष्ट्रिय अपाङ्ग महासङ्घ गण्डकी प्रदेशको सहकार्यमा व्यक्तिको सम्पूर्ण विवरणसहितको राम्रो गुणस्तरको पानीमा खस्दासमेत नबिग्रने किसिमको परिचयपत्र वितरण गर्न लागिएको हो ।

गाउँपालिकाले गत कात्तिक १७ देखि २४ गतेसम्म नौ वटै वडामा शिविर सञ्चालन गरेर अपाङ्गता भएकाहरूको विवरण सङ्कलन गरेको थियो ।

सोही आधारमा दर्ता भएका आवेदनमध्येबाट सोमबारदेखि ४५६ जनालाई डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरुआत गरिएको हो । पूर्ण अशक्त रातो रङको परिचयपत्र प्राप्त गर्ने १०८ रहेका छन् ।

पूर्ण अशक्तलाई रातो, अति अशक्तलाई निलो तथा मध्यम र सामान्यलाई पहेँलो र सेतो परिचपत्र तयार गरिएको छ । परिचयपत्रका आधारमा सार्वजनिक यातायात, स्वास्थ्य सेवालगायतमा उनीहरूले सहुलियत तथा सुविधा पाउँदै आएका छन् ।

गाउँपालिकाको वडा नं १ मा ४५, २ मा ७०, ३ मा ४७, ४ मा १०३ र ५ मा २४ अपाङ्गता भएका व्यक्ति रहेका छन् । त्यसैगरी वडा नं ६ मा ४८, ७ मा ५४ तथा वडा नं ८ र ९ मा ३० र २३ रहेको समन्वय समितिका संयोजक एवं गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताए ।

महासङ्घ गण्डकीका अध्यक्ष खोमराज शर्माले नेपालमै पहिलोपटक माछापुच्छ्रे  गाउँपालिकाबाट डिजिटल परिचयपत्र वितरण शुरु भएको बताए ।

उनले यसअघि देशका कुनै पनि पालिकामा डिजिटल परिचयपत्र वितरण गरिएको जानकारी महासङ्घमा नरहेको बताउँदै प्रथमपटक शुरुआत भएको उल्लेख गरे ।

गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिको सवालमा चासो दिएकै कारणले सहकार्यमा माछापुच्छ्रेबाट गुणस्तरीय डिजिटल प्रविधिको परिचयपत्र वितरण शुरु भएको बताउँदै उनले यसबाट अपाङ्गता भएकालाई आवश्यक नीति निर्माणमा समेत सघाउ पुग्ने उल्लेख गरे ।