
भरत शर्मा
पाल्पा । विगतका वर्षहरुमा बेमौसमी गोलभेडा, सिमी, तीते करेलाबाट राम्रो आम्दानी गरेका पाल्पाको पालुङमैनादी र मुझुङका ४ सय कृषक व्यवसायीक तरकारी खेतीमा जुटेका हुन् । उत्पादन राम्रो भएपनि तरकारीको भाउ नपाउँदा कृषकहरु निराश भएको पालुङ्गमैनादीका अगुवा कृषक जगदिश कुवँरले बताउनु भयो ।
उत्पादन तथा बजारीकरणमा सरकारको बेवास्ताका कारण कृषकहरु जोखिममा परेका छन् । गाउँमा कृषि सहकारीले कृषकहरुलाई कृषि पेशामा आर्कषित गराउन तालीम, राम्रो बिउविजन, मल तथा प्राविधिकदेखी विभिन्न कार्यक्रम संचालन गरी कृषि उत्पादन बढाएको भएपनि लागत अनुसार मुल्य नपाउँदा कृषक निराश भएको मैनादी कृषि सहकारीका संचालक ईन्द्र बहादुर कुवँरले बताउनु भयो । कृषकले स्थानीय सरकारको सहयोग पाएपनि प्रदेश र केन्द्र सरकारको सहयोग नपाएको कुवँरको भनाइ छ ।
गाउँपालिकाले एक वडा एक उत्पादनमा आधारित रहेर काम गरेपछि उत्पादनमा वृद्धि भएको छ । पालिकाले तरकारी, गोलभेडा, सुन्तलालगायतका उत्पादनमा प्रति केजी ३ रुपैयासम्म अनुदान दिएको तर बजारीकरणको लागि केन्द्र सरकारले सहजिकरण गर्नुपर्ने रिव्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनु भयो । पाल्पाको मदनपोखरा, जल्पा, डुम्रे, मस्याम, पालुङ्गमैनादी, मुझुङ्ग, अर्गली, बतासे, देवीनगर, रामपुर, हुगी क्षेत्र तररकारी पकेट क्षेत्र हुन् । यहाँका मात्रै करीव ४ हजार कृषक व्यवसायिक तरकारी खेतीमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस्