११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


मनाङको शतप्रतिशत नतिजामा पूर्णविराम, मच्छिन्द्रद्वारा ‘एनआरटी’पराजित


0
Shares

काठमाडौं, पुस १४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजामा पूर्णविराम लागेको छ ।

तीन खेलसम्म शतप्रतिशत परिणाम निकालेको मनाङले चौथो चरणको खेलमा कमजोर आँकिएको फ्रेन्ड्स क्लबसित बराबरी खेल्दै अंक बाँडेको हो ।

सोमबार दिउँसो एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल १–१ गोलको बराबरीमा टुंगिएको हो ।

रन्जन विष्टले खेलको १२औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ६२औं मिनेटमा उत्तम राईले गोल गर्दै फेन्ड्सलाई बराबरीमा ल्याए ।

मनाङ शीर्ष स्थानमा

यो बराबरीपछि फेन्ड्सले पनि अंकतालिकामा खाता खोलेको छ । मनाङ बराबरीले पनि १० अंकका साथ शीर्ष स्थानमा रहेको छ ।

मच्छिन्द्रले ‘एनआरटी’लाई हरायो

सोमबारै भएको पहिलो खेलमा विजयी हुँदै मच्छिन्द्र क्लब ९ अंकसहित दोस्रो स्थानमा रहेको छ । मच्छिन्द्रले न्यूरोड टिम (एनआरटी)लाई १–० ले हरायो ।

खेल बराबरीतर्फ अगाडि बढिरहँदा ९०औं मिनेटमा सोमिदे एड्लाजाले निर्णायक गोल गरेका थिए । सुजल श्रेष्ठको क्रसमा सोमिदेले हेडगोल गरेका हुन् ।

अंकतालिका

लिगमा ३ खेलबाट ७ अंकसहित थ्रीस्टार क्लब तेस्रो स्थानमा छ भने त्रिभुवन आर्मी क्लबको ६ तथा जावलाखेल युथ क्लबको ५ अंक छ ।

१४ टोली सहभागी लिगमा अहिलेसम्म सरस्वती युथ क्लबले मात्र अंकको खाता खोलेको छैन ।

मंगलबारका खेल

लिगअन्तर्गत् मंगलबार पनि दुई खेल हुनेछन् । बिहान साढे ११ बजे च्यासल युथ क्लबले जावलाखेलसित तथा दिउँसो ३ बजे हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सित खेल्नेछ । दुवै खेल एन्फा कम्प्लेक्समै हुनेछन् ।

‘गोरखा भूकम्प’पछि पहिलोपटक गएको मंसिर १४ गते तयार भएको दशरथ रंगशालामा सरकारले भ्रमण वर्ष २०२० को उद्घाटन गर्ने भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले बाध्य भएर चौथो चरणका सबै खेलहरु एन्फा कम्प्लेक्समा खेलाइरहेको हो ।