
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलका चौथो चरणका खेलहरु सोमबारदेखि सुरु हुँदैछन् । सोमबार दुई खेल हुँदैछन् ।
पहिलो खेलमा बिहान साढे ११ बजे एन्फा कम्प्लेस सातदोबाटोमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसँग खेल्नेछ ।
दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै मनाङ मस्र्याङ्दी क्लबले फ्रेण्डस् क्लबसँग खेल्नेछ । लिग तालिकामा एकमात्र सत्प्रतिशत खेलिरहेको साविक विजेता मनाङको ९ अंक छ । दोस्रो स्थानको थ्रीस्टार क्लबको ७ अंक छ ।
मच्छिन्द्र क्लब र त्रिभुवन आर्मी क्लबको समान ६ अंक छ । जावलाखेल युथ क्लबको ५ अंक छ भने एनआरटी, नेपाल पुलिस क्लब, च्यासल युथ क्लब र संकटा क्लबको समान ४ अंक छ ।
ब्रिगेड ब्वाइज क्लब बीबीसीको ३, हिमालयन शेर्पा क्लबको २ तथा सशस्त्र प्रहरीको एपिएफको १ अंक छ । १४ टोली सहभागी प्रतियोगितामा अंकको खाता नखोलेका फ्रेण्डस् र सरस्वती युथ क्लब रेलिगेशन क्षेत्रमा छन् ।
अहिलेसम्म च्यासलका सन्तोष साहुखल सर्वाधिक गोल ३ गोल गर्दै अगाडि छन् । उनले ए डिभिजनमा अहिलेसम्म ९९ गोल गरिसकेका छन् ।
चार खेलाडीले दुई गोल गर्दा २५ खेलाडीले एक एक गोल गरेका छन् । पाँच खेलाडीले रातो कार्ड पाउँदा २६ खेलाडीले पहेंलो कार्ड खाएका छन् ।
प्रतिक्रिया दिनुहोस्