अक्कल कुँवर र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, पुस १२ । नेपाली कांग्रेसमा असन्तुष्ट पक्षको बहिस्कारका बाबजुद् शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका र मिति घोषणा गरेको छ ।
बैठकले भ्रातृसंगठन तरुण दलको कार्यकाल ६ महिना थप्ने र पार्टीका विभाग बढाउने निर्णय गरेको छ ।
तर, असन्तुष्ट पक्षले भने एकलौटी निर्णयले पार्टीमा थप विवाद र ध्रुवीकरण हुने चेतावनी दिएको छ ।
आन्तरिक विवाद समाधानका लागि दुई साताअघिदेखि जारी प्रयासले सार्थकता पाउनुको सट्टा नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन्–झन् गहिरिँदै गएको छ ।
इतर पक्षले आगामी १४औं महाधिवेशनको कार्यतालिका, विभाग गठन, भातृसंगठनको प्याकेजमा सहमति गर्नुपर्ने अडान कायम राखेको छ ।
विवादका कारण इतर पक्षले पटक–पटक केन्द्रीय समिति बैठक बहिस्कार गरिसकेको छ ।
इतर पक्षको बहिस्कारपछि केन्द्रीय समितिको बैठक पटक–पटक स्थगित भइसकेको छ ।
कांग्रेसका पुराना नेता लोकेश ढकालले कांग्रेसभित्रको अहिलेको विवाद सैद्धान्ति र वैचारिक नभइ आसन्न महाधिवेशनबाट पार्टी कब्जा गर्ने रणनीति भएको टिप्पणी गरे ।
त्यसो त पछिल्लो समय कांग्रेस दुई पार्टीजस्तै देखिएको छ । सरकारले विपक्षीसँग वार्ता गर्न दुवै पक्षले वार्ता टोली गठन गरेजस्तै गरी आन्तरिक विवाद मिलाउन वार्ता टोली नै गठन गरेका छन् ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि भन्दै संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र इतर पक्षबाट पूर्वमहामन्त्री प्रकाशमान सिंहको नेतृत्वमा वार्ता टोली गठन गरिएको थियो ।
वार्ता टोलीबीच पनि विवाद समाधानका लागि पटक–पटक छलफल भएपनि सहमति हुन सकेको छैन ।
नेता ढकाल आन्तरिक विवाद मिलाउने नाममा वार्ता टोली गठन गर्नु कुनैपनि दृष्टिकोणले उपयुक्त नभएको जिकिर गर्छन् ।
पार्टीभित्रको असन्तुष्ट समूहलाई सहमतिमा ल्याउने प्रयास सफल हुन नसकेपछि संस्थापन आफ्नै ढंगले अगाडि बढ्ने रणनीतिमा पुगेको छ भने इतर पक्ष एकलौटी गर्न खोजे सशक्त प्रतिवाद गर्ने रणनीतिमा छ ।
दुवै पक्षले आफ्नो अडानबाट पछि नहट्ने रणनीति लिएसँगै कांग्रेसभित्रको आन्तरिक विवाद झन् गहिरिने देखिएको छ ।









प्रतिक्रिया दिनुहोस्