सीता पाण्डे (इमेज)
पाल्पा, पुस १२ । पुनःनिर्माण सम्पन्न भएसँगै पाल्पा दरबार संग्रहालयलाई प्रदेशस्तरीय संग्रहालयको रुपमा सन्चालन गरिएको छ ।
तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त बनेको पुरातात्विक महत्वको उक्त दरबारलाई पुनःनिर्माण गरी खुला गरिएसँगै पर्यटकको आवागमनसमेत बढ्दै गएको छ ।
संघीय सरकारअन्तर्गत् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पाल्पा दरबार संग्रहालयलाई गत वर्षदेखि प्रदेश सरकारअन्तर्गत् ल्याइएको छ ।
वि.सं. १९८० मा प्रतापशमशेर राणाले निर्माण गरेको सो दरबार वि.सं. २०६२ साल माघ १८ गते तत्कालीन माओवादी आक्रमणका क्रममा जलेर ध्वस्त बनेको थियो ।
दरबारलाई २०७२ सालमा पुनःनिर्माण गरी संग्रहालयको रुपमा परिणत गरिएको हो ।
यससँगै दरबार संग्रहालय हेर्न दैनिक सयौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकहरुको आगमन भइरहेको छ ।
यसलाई ५ नम्बर प्रदेश सरकारले प्रदेशकै मुख्य संग्रहालयको रुपमा सन्चालन गर्ने तयारीका साथ अघि बढेको छ ।
प्रदेशका १२ ओटा जिल्लाको पूर्ण झल्को दिनेगरी संग्रहालयलाई विकास गर्न थालिएको मुख्यमन्त्री शंकर पोखरेल बताउँछन् ।
२०६२ सालअघि प्रशासनिक भवनको रुपमा रहँदै आएको पाल्पा दरबार पुनःनिर्माण भएपछि दरबारमा रहेका कार्यालय अन्यत्र सारिएको थियो ।
संग्रहालय प्रवेशका लागि टिकट शुल्कको व्यवस्थासमेत गरिएको छ ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी दरबार संग्रहालयले हप्ताको सात दिन नै संग्रहालय खुला गर्दै आएको कार्यालयका लेखापाल चन्द्रबहादुर ओलीको भनाइ छ ।
पाल्पा दरबार संग्रहालयमा ६४ कोठा, दुई बुर्जा रहेका छन् ।
संग्रहालयले हाल दोस्रो तलामात्र प्रयोगमा ल्याएको छ भने अन्य दुईओटा तला प्रयोगमा आउनसकेको छैन ।
पाल्पा दरबार संग्रहालयको गुरुयोजनाअनुसार दरबार परिसरमा रहेका कार्यालय अन्य स्थानमा सार्ने, पुरानो संरचनाअनुसार खुला संग्रहालय, स्वप्न बगैंचा निर्माण, शान्त वातारण, मनोरम दृश्यसहितको १९८० को स्वरुपमा फर्काउने र ५ नम्बर प्रदेशको स्वरुप झल्काउने गरी तयारी भइरहेको समाजसेवी राजेन्द्र विक बताउँछन् ।
अहिले दरबारको केही भागमा मात्र संग्रहालय सन्चालनमा आएकामा प्रदेशका सबै जिल्लाका ऐतिहासिक वस्तुहरु छिटोभन्दा छिटो राख्नसके नेपाल भ्रमण वर्षलाईसमेत टेवा पुग्ने देखिन्छ ।








प्रतिक्रिया दिनुहोस्