-धु्रव भट्टराई/ईमेज
विराटनगर, पुस ११ । प्रदेश नं १ ले आगामी वर्षदेखि प्रादेशिक प्राविधिक तथा व्यावसायिक विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरेको छ ।
साविकको मनमोहन स्मृति पोलिटेक्निकलाई आफ्नो स्वामित्वमा ल्याई आगामी वर्षदेखि प्राविधिक व्यावसायिक शिक्षा प्रदान गर्ने तयारी प्रदेशले गरेको हो ।
प्रदेश १ सरकारले गत वर्षको हिउँदे अधिवेशनबाट मनमोहन प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक प्रदेश सभाबाट पारित गरेको थियो ।
जसबाट प्रदेश सरकार मातहत प्राविधिक धारको विश्वविद्यालय सञ्चालन गर्ने बाटो खुलेको हो ।
यससँगै मोरङको बुढीगंगा गाँउपालिका ४ हात्तीमुडामा अवस्थित मनमोहन स्मृति पोलिटेक्निकले सम्पत्ति तथा दायित्व प्रदेश सरकारलाई हस्तान्तरण समेत गरेको पोलिटेक्निकका प्राचार्य डा. सुभाष पोखरेल बताउँछन् ।
प्राविधिक विश्वविद्यालयको रुपमा विकास हुन लागेको मनमोहन स्मृति पोलिटेक्निकलाई प्राविधिक जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गर्न खोजिएको हो ।
प्रदेश सरकारको यस योजनामा स्थानीय सरकार पनि सहयोग गर्न तयार रहेको बुढीगंगा गाउँपािलकाका अध्यक्ष बालचन्द्र माझीको भनाइ छ ।
उक्त योजना पूरा भएमा यो नेपालकै पहिलो प्रादेशिक नमूना विश्वविद्यालय हुनेछ ।
प्रादेशिक विश्वविद्यालयलाई आवश्यक तयारी पूरा गरी आगामी शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्ने योजना रहेको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राई बताउँछन् ।
मनमोहन स्मृति प्रतिष्ठानमा डिप्लोमा तहका ६ वटा संकायमा प्राविधिक धारको पढाइ हुँदै आएको थियो ।
प्रतिष्ठानले विगतदेखि शिक्षा र प्राविधिक अध्ययन क्षेत्रमा विशिष्ट भूमिका निर्वाह गरेकाले तीन पटकसम्म राष्ट्रिय सम्मानबाट सम्मानित भएको थियो ।








प्रतिक्रिया दिनुहोस्