Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


एमालेको नाराबाजी र अवरोधकैबीच प्रतिनिधि सभाबाट पारित गरियो बजेट

अर्थिक विधेयकमाथिको दफाबार छलफल भने आगामी बिहीबारबाट

0
Shares

काठमाडौं, असोज ४ । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधकैबीच प्रतिनिधि सभाबाट चालु आर्थिक वर्षको बजेट पारित गरिएको छ ।

सोमबार बसेको बैठकबाट प्रतिनिधिसभामा सरकारले पेश गरेको बजेट अध्यादेश प्रतिस्थापन विधेयक अन्तर्गत विनियोजन विधेयक पारित गरिएको हो ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव प्रतिनिधिसभाको बहुमतबाट पारित भएको घोषणा सभामुख अग्नि सापकोटाले गर्नुभएको हो ।

विपक्षी एमालेका सांसदहरुले लगातार नाराबाजी गर्दा सत्ता पक्षका सांसदहरुले विधेयकमाथिको छलफलमा भाग नै लिएनन् भने खर्च कटौती प्रस्ताव दर्ता गर्नुभएका सांसद प्रेम सुवालले मात्र छलफलमा भाग लिनुभएको थियो ।

सभामुखले प्रस्ताव निर्णयार्थ पेश गर्दा विधेयकका पक्षमा सत्ता पक्षका सांसद तथा विपक्षमा प्रेम सुवाल मात्र देखिनुभयो ।

केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत् ल्याएको आर्थिक वर्ष २०७८/०७९ को बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत परिमार्जिन गरी संसदमा पेश गरेको थियो ।

सरकारले समयमै संसदबाट बजेट पारित गराउन नसक्दा मुलुकमा बजेट होलिडेको अवस्था समेत आएको थियो ।

आफ्नो पार्टी विभाजनमा सभामुख सापकोटाको संलग्नता रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार वेल घेरेर नाराबाजी गरिरहेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको नाराबाजीबीच आर्थिक विधेयक स्वीकृत भए पनि संघीय संसद कार्यसञ्चालन नियमावली अनुसार ७२ घण्टापछि मात्र विधेयक परिपक्क्व हुने भएकाले अर्थिक विधेयकमाथिको दफाबार छलफल भने आगामी बिहीबारबाट मात्र शुरु हुनेछ ।

Skip This