Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा


0
Shares

काठमाडौं, पुस ८ । उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबारैदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको जनाएका छन् ।

‘… दुईबुँदे सहमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फीरुपमा तोडेको प्रस्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुनेगरी उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ’–उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै लेखेको राजीनामापत्रमा उल्लेख छ ।

‘उहाँले राजीनामा दिनुभएको छ’–यादवका स्वकीयसचिव महेश चौरसियाले इमेजखबरसित टेलिफोनमा भने–‘राजीनामापत्र बुझाउन जाँदैछु ।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा ‘संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधानविज्ञहरु सम्मिलित विज्ञ सुझाव समिति गठन गर्ने प्रस्ताव आफूले प्रस्तुत गरेकोमा उक्त प्रस्तावलाई अस्वीकार गरिएको’ पनि यादवको राजीनामापत्रमा जनाइएको छ ।

यसअघि, मंगलबारै बिहान काठमाडौंमा उपलब्ध समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

मोहम्मद इस्तियाक राईको पनि राजीनामा

समाजवादी पार्टीबाटै सहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन् ।

मन्त्रिमन्डल पुनर्गठन गर्दा प्रधानमन्त्री ओलीले यादवसँग सोधपुछै नगरी उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खोसेर कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए ।