Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सङ्घीयतालाई स्थापित गर्न सबैको सहयोग आवश्यक : मुख्यमन्त्री पौडेल


0
Shares

मकवानपुर, पुस ८ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । उनले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गरे ।

आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राखे ।

काम गराइका शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने उनले बताए । हामीले भन्ने गरेको र संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थातर्फ जान हाम्रा क्रियाकलाप पनि समाजवाद उन्मुख हुनुपर्ने मुख्यमन्त्री पौडेलको धारणा थियो ।

उनले यो वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने जानकारी दिए ।  विदेशबाट इन्धन भित्र्याएर खर्बौं रुपैयाँ बाहिर पठाउने काम बन्द गर्न पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिइने उनको भनाइ थियो ।

प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको, विश्वविद्यालय, शिक्षण अस्पताल बनाउँदै गरेको, रङ्गशाला, सडक, नेपाल प्रहरीका लागि ४८ वटा प्रहरीचौकी भवन निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम गरिरहेकोलगायतको जानकारी दिए ।

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेश सरकारले भोगेका जटिलताको एकलभन्दा पनि सामूहिकरुपमा समाधान खोज्ने प्रयासस्वरुप अन्य प्रदेशसँग समेत छलफल तथा भेटघाट कार्यक्रम गरिएको बताए ।

सबै हिसाबमा समृद्ध प्रदेश नं ३ सरकारसँग भावी योजना तथा विगतको अनुभव लिन पाउँदा खुशी लागेको उनले बताए ।

प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले गण्डकी प्रदेशको प्रतिनिधिमण्डलसँग साक्षात्कार गर्न पाउँदा र दुई प्रदेशको अनुभव आदानप्रदान गर्न पाउँदा खुशी लागेको धारणा राखे । रासस