Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


उर्लाबारीमा ट्रमा सेन्टरसहितको अस्पताल बनाउने प्रदेश १ सरकारको तयारी


0
Shares

-ध्रुव भट्टराई/ईमेज

विराटनगर । प्रदेश १ सरकारले ट्रमा सेन्टरसहितको अस्पताल बनाउन मोरङको मंगलबारे अस्पतालमा आवश्यक तयारी थालेको छ ।

विभिन्न किसिमका दुर्घटना र प्राकृतिक प्रकोपमा परेकाहरुलाई तत्काल उपचारको प्रबन्ध मिलाउने उद्देश्यले उर्लावारी नगर अस्पताललाई विशेष सेवासहितको ट्रमा सेन्टरका रुपमा विकास गर्ने तयारी थालिएको हो ।

तत्कालीन प्राथमिक स्वास्थ्य केन्द्र रहेको मोरङको उर्लावारीस्थित मंगलबारे अस्पताल हाल १५ शैय्यामा संचालित छ । अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले ट्रमा सेन्टरको रुपमा विकास गर्न लागेको हो ।

त्यसका लागि गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा गरी चार करोड रुपैयाँको बजेट छुट्याइएको छ । जसमध्ये २ करोड रुपैयाँबाट आवश्यक उपकरण खरिद गरी सकिएको छ ।

सामान्य शल्यक्रिया सेवा मात्र उपलब्ध हुँदै आएको अस्पताललाईट्रमा सेन्टरको रुपमा विकास गर्न आवश्यक उपकरण खरिद गरी संचालनमा ल्याउने तयारी गरिएको अस्पताल व्यवस्थापन समितिका सदस्य कमलनारायण मल्लिकको भनाइ छ ।

उक्त अस्पताल राजमार्गसँग जोडिएका कारण पनि दैनिकजसो बिरामीको चाप बढी हुने गरेको छ । अहिले नगर अस्पतालका रुपमा रहे पनि यहाँबाट सरकारले निशुल्क प्रदान गर्ने स्वास्थ्य सेवाहरु प्रवाह भइरहेको छ ।

जसका कारण सेवा लिने विरामीको चाप बढी हुने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन योगेशकुमार मण्डल बताउँछन् ।

पछिल्ला वर्ष पूर्व–पश्चिम राजमार्गलगायतका राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेले समयमा उपचार नपाउँदा ज्यान गुमाउनुपरेको दुखद् अवस्थालाई मनन गरी यस्तो तयारी थालिएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश सरकार मातहत रहने गरी चालु आर्थिक वर्षको अन्त्यबाटै अस्पतलाबाट ट्रमा सेन्टरसहितको सेवा उपलब्ध गराउने तयारी रहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुर राईको भनाइ छ । 

ट्रमा सेन्टरसहितको सेवा उपत्यका बाहिर कतै नभएकाले यसबाट धेरैलाई राहत हुने छ । २०४९/०५० सालमा नेपाल सरकारबाट स्वीकृत भई प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा उर्लाबारी–६ मंगलबारेमा अस्पताल स्थापना भएकोे थियोे ।