
काठमाडौं, भदौं २३ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि सापकोटाविरुद्ध प्रतिनिधिसभामा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेको छ ।
पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरेर दल विभाजनमा सहयोग गरेको भन्दै एमाले सांसदहरुले विरोध गरेका हुन् ।
प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक शुरु सुरु हुनासाथ उनीहरुले उठेर विरोध गरेका थिए । त्यसलगत्तै सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई समय दिनुभएको थियो ।
भट्टराईले एमालेले कारबाही गरेका सांसदलाई पदमुक्त नगरेकामा सभामुखमाथि नै प्रश्न गर्दै भन्नुभयो, ‘तपाईले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथिको भूमिका निभाउनु भयो ?’
भट्टराईको प्रश्नमा सभामुख सापकोटाले आफूले प्रचलित कानुनका आधारमा निर्णय लिएको भन्दै भन्नुभयो, ‘हाल यो विषय सम्मानित अदालतमा विचाराधीन छ । साथै संविधानले अदालतमा विचाराधीन मुद्दामा दुबै सदनमा छलफल गर्न बन्देज गरेको जानकारी गराउँछु ।’
सभामुखले बोलिनसक्दै एमाले सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले सभामुखको व्यवहार मूर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदैन’ भन्ने जस्ता नारा लगाए ।
नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित गरियो । (अद्यावधिक गरिएको)









प्रतिक्रिया दिनुहोस्