Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


सत्तारुढ नेकपा र राजपाबीच दुईबुँदे सहमति


0
Shares

काठमाडौं, पुस २ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच दुईबुँदे सहमति भएको छ ।

नेकपा र राजपाबीच आउँदो राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेश नम्बर–२ मा तालमेल गर्नेसहितको सहमति भएको हो ।

सहमतिअनुसार प्रदेश–२ को राष्ट्रियसभा निर्वाचनका रिक्त चार स्थानमध्ये अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको रिक्त दुई स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्नेछ ।

त्यस्तै, प्रदेश–२ कै महिला र दलित पुरुष समूहको रिक्त दुई स्थानमा राजपाले नेकपाका उम्मेदवारलाई सघाउनेछ ।

नेकपा र राजपाबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमितरुपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने सहमतिसमेत भएको जनाइएको छ ।

नेकपा र राजपाका शीर्ष नेताहरुबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा यस्तो सहमति जुटेको हो ।

सहमतिपत्रमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र राजपा अध्यक्षमन्डलका संयोजक राजेन्द्र महतोले हस्ताक्षर गरेका छन् ।

राष्ट्रियसभाको निर्वाचन आउँदो माघ ९ गते हुँदैछ । निर्वाचन आयोगले बुधबारै निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।