
काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका औपचारिक कार्यक्रम अबको दुई दिनपछि शुरु हुँदैछ ।
१४ औं महाधिवेशनअन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन यही भदौं १८ गतेबाट देशभर शुरु हुँदैछ । यद्यपि, अधिवेशनको कार्यक्रम शुरु हुन ४८ घण्टा मात्र बाँकी रहँदा पनि कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनक गर्न सकेको छैन ।
सबै जिल्लामा एकै दिन १८ भदौंकै दिन अधिवेशन हुन नसक्दा स्थानीय निर्वाचन संयोजकले एक/दुई दिन यताउता गर्नसक्ने नेताहरुले बताएका छन् । तर केन्द्रीय निर्वाचन समितिले निर्वाचनको अर्को तालिका ननिकाल्ने प्रष्ट गरेको छ ।
यसबीचमा केन्द्रदेखि स्थानीय तहसम्मका नेतृत्व आकांक्षीहरु आ–आफ्नो उम्मेदवारी भटाभट घोषणा गर्दैछन् । मूलतः क्षेत्रहरुबाट चुनिएर आउने महाधिवेशन प्रतिनिधि नै कांग्रेस महाधिवेशनको मतदाता भएकाले केन्द्रीय निर्वाचनमा कसको पल्लाभारी होला भन्ने त्यसपछि मात्र अनुमान गर्न सकिन्छ ।
तर, केन्द्रीय सभापतिका आकांक्षीहरुले आफ्नो पक्षमा समर्थन जुटाउने पहल भने शुरु गरिसकेका छन् । हाल पार्टीको नेतृत्व गरिरहनुभएका शेरबहादुर देउवाले सभापतिमा फेरि दोहोरिने इच्छा व्यक्त गर्दै आफूनिकटका केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई सोहीअनुसार महाधिवेशन प्रतिनिधि ल्याउन निर्देशन दिइसक्नुभएको छ ।
केही समयअघिसम्म संस्थापनमा निर्विकल्प झै देखिनुभएका देउवालाई उहाँकै निकट सहयोगि र हालका पार्टी उपसभापति बिमलेन्द्र निधिले चुनौती दिँदै १४ औं महाधिवेशनका लागि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । उहाँले अलग्गै सम्पर्क कार्यालय नै सञ्चालन गरिसक्नुभएको छ ।
संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।
तर, यस समूहमा पौडेललाई रोकेर सभापतिको उम्मेदवार बन्ने दौडमा महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. शेखर कोइराला रहनुभएको छ । अघिल्लो पटक तेस्रो धारको नेतृत्व गर्दै सभापतिमा उम्मेदवारी दिनुभएका कृष्ण सिटौलाले यस पटक के गर्नुहुन्छ वा कसलाई सघाउनु हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन ।
अर्कातर्फ, नेताहरु सहमतिमा नआए आफूहरु पनि सभापतिमै उम्मेदवारी दिने भन्दै नेता अर्जुननरसिंह केसी र डा. रामशरण महतले आफ्नो समुहबाट एउटै उम्मेदवार बनाउन दबाब दिँदै आउनुभएको छ ।
यस्तोमा, पौडेल समूहको बैठक पटक पटक बसेर साझा उम्मेदवार बनाउने प्रयास भइरहेको छ । मंगलबार पनि पौडेल निवास बोहोराटार, बालाजुहाइटमा संस्थापन इतरका नेताहरुले बैठक गरेका छन् । यो पक्षलाई वडा अधिवेशन हुने भदौं १८ गते अगावै समूहका तर्फबाट सभापतिको उम्मेदवार तय गर्न देशव्यापी दबाब पनि परेको छ ।
प्रतिक्रिया दिनुहोस्