Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


नेप्सेका सिईओ साउद र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न संसदीय समितिको निर्देशन


0
Shares

काठमाडौं । संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले पदीय आचरणविपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको शुक्रबारको बैठकले बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदीय आचरण विपरीत सेयर कारोबार गरेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सर्वोत्तम सिमेन्टको सेयर बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले परिवारका सदस्यहरुको नाममा खरिद गरेर पदीय आचरण विपरीत काम गरेको भन्दै चर्को आलोचना भइरहेका बेला समितिले तत्काल छानविन गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।

बैठकले सेयर बजारको दीगो विकास र स्थायित्व कायम गर्दै यस क्षेत्रको स्वच्छता, पारदर्शीता, सदाचारिता, नैतिकता साथै जिम्मेवार र जवाफदेहिता प्रवर्द्धन गर्न नीतिगत, कानुनी र संरचनागत व्यवस्था गरी समितिलाई जानकारी गराउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

समितिका सदस्य एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सेयर बजारबाट अनुचित लाभ लिन नपाउने गरी आवश्यक कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । बैठकमा समितिका सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले नियामक बोर्ड र नेप्सेका पदाधिकारीहरूले पदीय मर्यादा विपरीत काम गरेकोमा सरकारको ध्यान गएको स्पष्ट पार्दै उनीहरूमाथि आवश्यक कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Skip This