Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


तत्काल संसद अधिवेशन बोलाउन माग


0
Shares

काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राजपा नेपालका नेताले तत्काल संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले संसद अधिवेशन नचल्दा जनताका दैनिक समस्या र राष्ट्रिय सवालहरुसमेत ओझेलमा परेको भन्दै तत्काल अधिवेशन बोलाउन माग गरे ।

उनले सरकार फेरि पनि संविधानको मर्म र भावनाविपरीत एकपछि अर्को विधेयक ल्याउने तयारीमा रहेको भन्दै आपत्ति जनाए ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद अधिवेशन आह्वान सरकारको कार्यक्षेत्रभित्र पर्ने स्मरण गर्दै पुस पहिलो वा दोस्रो हप्ताभित्र अधिवेशन आह्वान हुनसक्ने विश्वास व्यक्त गरे ।

राजपा नेपाल संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले सभामुखको अनुपस्थितिमा संसदीय समिति र समितिका अनुगमनलगायत तमाम कामहरु अवरुद्ध भइरहेको भन्दै सभामुख चयनका लागि पनि तत्काल अधिवेशन आह्वान गर्न माग गरे ।

सत्तारुढ दलको एक घटक समाजवादी पार्टीका नेता उमाशंकर अरगरियाले सभामुखको अनुपस्थितिमा पनि संसद अधिवेशन आह्वान गर्न सकिने भन्दै तत्काल अधिवेशन बोलाउनुपर्ने बताए ।