
प्रज्ञा तिमल्सिना र लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, मंसिर १६ । ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा स्वास्थ्य बिमाको दायरामा ल्याउने सरकारको योजनाअनुरुप हालसम्म दुई लाख ५० हजार ज्येष्ठ नागरिकले निःशुल्क उपचार पाएका छन् ।
गएको जेठ महिनादेखि सुरु भएको कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुले एक लाखसम्मको निःशुल्क स्वास्थ्य उपचार प्राप्त गरेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्करुपमा स्वास्थ्य उपचार प्रदान गर्ने घोषण गरिएको थियो ।
सोअनुसार गएको चैत्रमा ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गराउने नियमावली बन्यो र वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले यो कार्यक्रमको सुरुआत गरेका थिए ।
निःशुल्करुपमा एक लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्ने यस कार्यक्रमबाट हालसम्म दुई लाख ५० हजार ज्येष्ठ नागरिकले सेवा लिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ ।
मासिक तीन हजार भत्ता पाइरहेका ज्येष्ठ नागरिकलाई वार्षिक एक लाखसम्मको स्वास्थ्य उपचार प्राप्त गर्ने व्यवस्था गरिएको हो ।
जसमा परिवारभित्र नै रहेका ज्येष्ठ नागरिकको बिमा रकम परिवारले तिर्ने तर परिवार नभएका ज्येष्ठ नागरिकको बिमा भने सरकारले गरिदिने व्यवस्था रहेको छ ।
जसमा एकजना ज्येष्ठ नागरिकले एक लाखसम्मको छुट्टै सेवा प्राप्त गर्ने स्वास्थ्य बिमा बोर्डका निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिए ।
२०७२ साल चैत महिनादेखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमबाट हालसम्म ४९ जिल्लाका २४ लाख व्यक्तिले सेवा लिइसकेको बोर्डले जनाएको छ ।
यस्तै, सरकारले गरिबीको रेखामुनि रहेका परिवारलाईसमेत निःशुल्करुपमा स्वास्थ्य बिमा गराउन सुरु गरेको छ । जसमा हालसम्म यो योजनामा २६ जिल्लाका व्यक्तिहरु समेटिएको बोर्डले जनाएको छ ।
गरिबीको परिचयपत्र पाएका व्यक्तिमात्र स्वास्थ्य बिमाको दायरामा आएका हुन् ।
आकस्मिक, ओपीडी, सामान्य शल्यक्रिया परीक्षणलगायतका सेवामात्र स्वास्थ्य बिमाले तोकेको छ ।
जटिल खालका रोग बिमाले नतोकेकाले स्वास्थ्य बिमाप्रति मानिसको आकर्षणसमेत घट्दै गएको छ ।
ज्येष्ठ नागरिकले निःशुल्क स्वास्थ्य उपचार प्राप्त गरे पनि जटिल रोगहरुको उपचार निःशुल्क नहुँदा यो कार्यक्रमप्रति प्रश्न उठेको छ ।
प्रतिक्रिया दिनुहोस्