-प्रदिप पौडेल
पोखरा । प्रतिनिधिसभा कास्की–२ को उपचुनावमा विजयी भएपछि विद्या भट्टराई(अधिकारी)को राजनीतिक यात्राले नयाँ मोड लिएको छ ।
प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई आठ हजार बढी मतान्तरसहित पराजित गर्दै उनी विजयी भएपछि राजनीतिको नयाँ खुडकिलो प्रारम्भ भएको छ ।
वि.स. २०७५ फागुन १५ गतेअघिसम्म विद्यालाई राजनीतिक नेता र उनका समकक्षी बाहेक अन्यले एउटा प्राध्यापकका रुपमा मात्र चिन्दथे । हुन पनि उनी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नी थिइन् ।
राजनीतिमा टाढा रहेर त्रिविमा प्राध्यापन पेशामा सक्रिय थिइन् । आफ्ना पति मन्त्री भए पनि उनले आफ्नो काम छाडेकी थिइनन् । कहिल्यै पतिको हैसियतको उन्माद देखाइनन् ।
एउटी असल बुहारी, जीवनयात्रा रुपी रथको मजबुत पाङ्ग्रा, देवर–देवरानीहरुका स्नेही भाउजु अनि छोराहरुको ममतामयी माताका साथमा विद्यार्थीहरुका प्रिय अध्यापकका रुपमा उनले आफूलाई उभ्याइन् । सामाजिक काममा सक्रिय भइरहिन्। आफ्नो ज्ञान र क्षमता देशभित्र र बाहिर बाँडिरहिन् ।
एउटी गृहिणी, सामाजिक अभियन्ता अनि अध्यापकका रुपमा सरल जीवनयापनका क्रममा अचानक देशको ढुकढुकी बनिरहेका, विकास र समृद्धिको अभियान छेडिरहेका, जस्तासुकै विवाद र आरोपहरुको डटेर सामना गर्दै आफ्नो लक्ष्यमा निरन्तर लम्किरहेका जीवनसाथी रवीन्द्रको कार्यक्षेत्रमा रहेकै बेला २०७५ साल फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उनले चालेको राजनीतिक अभियान र विकास तथा समृद्धिको यात्रालाई निरन्तरता दिने जिम्मेवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्यालाई दिएको छ ।
धेरैलाई लाग्नसक्छ विद्यालाई पतिको मृत्युपछि सहानुभूतिको भोट बटुल्न नेकपाले उम्मेदवार बनायो । तर यो पूर्णतः गलत हो । यदि त्यसो हुन्थ्यो भने उनको नाम कास्कीबाट एकल रुपमा सिफारिस हुने थिएन । उनको राजनीतिक यात्रा र उनले गरेको त्यागको कदर गर्दै पार्टीले उम्मेदवार बनाएको हो भन्ने आम बुझाइ छ ।
रवीन्द्र अधिकारीको विकास प्रेम, समृद्धिको खाका र उनले मुलुकको समृद्धिका लागि हिंडेको यात्रालाई पछ्याउने सबभन्दा उपयुक्त पात्र विद्या नै भएकाले नै पार्टीले उम्मेदवार बनाएको भन्ने दाबी गरिएको छ । राजनीतिक रुपमा प्रतिस्पर्धा एउटा महत्वपूर्ण पाटो त छँदैछ तर विद्याको राजनीतिक चेत, उनको संघर्ष, ज्ञान अनि सरल जीवनशैलीले जोकोही प्रभावित हुने गरेको पाइन्छ । विपक्षीले पनि सम्मान गर्ने छवी रहेको आम बुझाइ छ ।
२०२९ साल कार्तिक २९ गते काठमाडौंमा जन्मिएकी विद्या १२ वर्षको कलिलो उमेरमै राजनीतिमा होमिएकी थिइन । विद्यार्थी राजनीतिमा उचाई चढ्दै गर्दा रवीन्द्रसंग विवाह गरेपछि सक्रिय राजनीतिबाट विश्राम लिएर घर–परिवारको जिम्मा लिंदै रवीन्द्रको राजनीतिक यात्रालाई सहज बनाइदिएकी थिइन् ।
आफ्ना पतिको अकल्पनीय निधनपछि उनले आफूलाई राजनीतिमा सक्रिय बनाउनेबारे कुनै चासो राखेकी थिइनन् । उनमा पदको आकांक्षा पनि थिएन र कसैले निर्वाचनका कुरा गरे आफूले केही निर्णय नगरेको बताउँदै आएकी थिइन्।
राजनीतिक सक्रियता
विद्यालय जीवनमा १२ वर्षको उमेरमै सक्रिय राजनीतिक कार्यक्रम र आन्दोलनमा सहभागी भएकी विद्या २०४२ सालमा पशुपति मित्र मावि चावहिल काठमाडौंमा ७ कक्षामा अध्ययनरत रहँदाकै अवस्थामा अनेरास्ववियुले आयोजना गरेको सरसफाई आन्दोलन हाजिरी जवाफ वक्तृत्वकला र वृक्षारोपण आदिमा सक्रिय भएकी थिइन् ।
२०४५ सालमा भारतले लगाएको नाकाबन्दी विरुद्धमा अनेरास्ववियुले आयोजना गरेको आन्दोलनका कार्यक्रमहरुमा विभिन्न स्कुलहरुमा विद्यार्थीलाई संगठित गर्ने अभियानमा लाग्दै आफ्नो राजनीतिक चेतलाई निखारेकी उनले २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रारम्भिक कमिटिमा आबद्ध हुदै सक्रिय रुपमा सहभागी भएकी थिइन् ।
२०४७ सालमा अखिल नेपाल महिला संघ जिल्ला समिति काठमाडौंको कोषाध्यक्षमा निर्वाचित उनले काठमाडौंका विभिन्न ठाउँहरुमा महिलालाई संगठित गर्न सक्रिय भइन । सोही साल जनसांस्कृतिक परिवारको सदस्यहुँदै नेकपा (एमाले)को संगठित सदस्य बनिन् ।
२०४८ सालमा अनेरास्ववियु जिल्ला कमिटी सदस्यको हैसियता पोखरामा सम्पन्न एघारौ राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषदमा निर्वाचित विद्या २०४८ मा १८ वर्षकै उमेरमा नेकपा (एमाले) वडा कमिटी सदस्य बनेकी थिइन् । ०४९ मा पद्मकन्या क्याम्पस स्ववियुमा सभापतिमा उम्मेदवारी दिइन् भने २०५० सालमा अनेरास्ववियु महिला विभाग प्रमुखका रुपमा सक्रिय भइन् ।
महिला र विद्यार्थी मोर्चामा सक्रिय रहँदाकै अवस्थामा उनी २०५५ मा अनेरास्ववियुको केन्द्रिय सचिव बनिन् । २०५६ मा अखिल नेपाल महिला संघ केन्द्रिय सदस्य र कार्यालय सचिव तथा २०५७ सालमा बुद्धिजीवी परिषदको सदस्य बन्न सफल भइन् ।
२०५६ साल असार २६ गते उहाँले तत्कालीन विद्यार्थी नेता रवीन्द्र अधिकारीसंग जनवादी विवाह गरिन् । त्यसपछि उनको जीवनले अर्को मोड लियो । सक्रिय राजनीतिबाट थोरै विश्राम लिएर परिवार, अध्ययन र अध्यापन पेशामा सक्रिय भइन् । २०५८ मा कास्कीको पृथ्वी नारायण क्याम्पस, पोखराबाट प्राध्यापन पेशा सुरु गरिन् ।
२०५९ सालदेखि आंशिक शिक्षकका रुपमा प्राध्यापन पेशा सुरु गर्दै विभिन्न अध्ययन र अनुसन्धानका कामहरुमा सहभागी भएकी उनले महिला विरुद्ध हुने घरेलु हिंसा, सुरक्षित मातृत्व, महिला नेतृत्व र विकास, अन्तर्राष्ट्रिय महिला महासन्धि र नेपालको अवस्थाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कार्यशालाहरुमा कार्यपत्र पेश गरेर आफ्नो बौद्धिकता प्रदर्शन गर्न सफल भइन् ।
विद्या भट्टराई स्व.अधिकारीकी धर्मपत्नी भएर मात्र हैन देशलाई आवश्यक पर्ने एउटा जनप्रतिनिधिमा हुनुपर्ने सबै क्षमता भएर नै उम्मेदवार बनाएको संगठनको दाबी छ ।
हुनत उनको राजनीतिक पृष्ठभूमिका बारेमा अहिलेको अधिकांश नेता परिचित नै छन् । देशको राजनीतिक परिवर्तन होस् वा सामाजिक विकृति–विसंगती त्यसबिरुद्ध सधै सक्रिय रहने विद्यामा अनेरास्ववियु प्रारम्भिक कमिटी, जिल्ला कमिटी अंचल कमिटी हुँदै केन्द्रिय कमिटीमा काम गरेको अनुभव छ । प्राध्यापन पेशामै रहँदा २०६२।०६३ को आन्दोलनमा सक्रिय सहभागिता जनाएकी उनी २०६४ मा नेकपा (एमाले केन्द्रिय) संघीय मामला विभाग सदस्य बनेकी थिइन् ।
त्यस्तै २०६२ देखि २०६४ सम्म उच्चशिक्षा पाठयक्रम निर्माण समितिको सदस्य तथा२०६६ मा नेकपा (एमाले) प्राध्यापक इलाका कमिटीमा सामुदायिक क्याम्पसका तर्फबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष बनेकी थिइन् ।
२०६७ देखि २०७० सम्म सार्क स्तरीय महिला सञ्जालमा वकालत गर्ने सामाजिक संस्था “वियोण्ड वेइजिङ कमिटीमा कार्यक्रम संयोजकको रुपमा कार्यरत उनले २०७२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा एमफिल गरेकी छन् । त्यसपछि त्रिविको खुल्ला सेवा आयोग परीक्षा पास गरी स्थायी रुपमा उपप्राध्यापक पदमा उत्तीर्ण भएकी हुन् । त्यसयता उनी निरन्तर प्राध्यापन पेशामा सक्रिय थिइन्।









प्रतिक्रिया दिनुहोस्