प्रदीप पौडेल (इमेज)
अपडेट
पोखरा, मंसिर १४ । कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा ६३.४० प्रतिशत मत खसेको छ ।
रिक्त प्रतिनिधिसभा सदस्यका लागि शनिबार उपनिर्वाचनअन्तर्गत् मतदान सम्पन्न भएको हो ।
कास्की–२ मा योपटक कुल ७१ हजार ८७१ मतदाता रहेकामा कुल ४५ हजार ५६३ मत खसेको कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जानकारी दिए ।
यसअघि, ४४ हजार २० मत खसेको प्रारम्भिक विवरण आएको थियो ।
कास्की–२ मा १० जना स्वतन्त्रसहित २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यहाँ ७० प्रतिशत मतदान भएको थियो ।
शनिबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको हो ।
यस क्षेत्रबाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको हो ।
केही छिटफुट घटनाबाहेक शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मतगणना आजै
मतदान सम्पन्न भएपछि मतपेटिका सिलबन्दी गरेर पोखरा, सहिदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा ल्याइएको छ ।
अहिले सर्वदलीय बैठक बसिरहेको छ । बैठकपछि शनिबारै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्