भक्तपुर, मंसिर १४ । क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्य पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेबाट शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ ।
प्रदेश (क) मा चाँगुनारायण नगरपालिकाको नौ वडा र भक्तपुर नगरपालिकाको वडा नं १० गरी १० वडामा कूल २२ मतदानस्थलका ५४ मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कूल २१ हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी ४५ हजार १५ मतदाता रहेको यो प्रदेशमा बिहानैदेखि उत्साहजनकरूपमा मतदाता मतदानमा लामबद्ध भएका छन् ।
अधिकांश मतदानस्थलमा बिहान ६ बजेदेखि नै मतदाता पुगेका थिए । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले आज बिहान ७ बजेबाट शान्तिपूर्णरूपमा मतदान शुरु भएको जानकारी दिँदै मतदान केन्द्र, मतदानस्थल र निर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको बताए ।
मतदाताले शान्तिपूर्णरूपमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाउने गरी व्यवस्था गरिएको उनको भनाइ थियो ।
आवश्यकताअनुसार सुरक्षाकर्मी थप गर्न सक्ने बताउँदै उनले मतदानस्थलमा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका छन् ।
उपनिर्वाचनका लागि नौ दलका नौ उम्मेदवार र १० स्वतन्त्रसहित कूल १९ उम्मेदवार चुनावी मैदानमा छन् ।















प्रतिक्रिया दिनुहोस्