-केशव भण्डारी/ईमेज
रुपन्देही, मंसिर १४ । किसानलाई प्रोत्साहन गर्दै उत्पादकत्व बढाउने उद्देश्यले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गहुँको बिऊमा अनुदान दिन थालेको छ ।
कृषिलाई प्राथमिकतामा राखेको नगरपालिकाले ४० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण सुरु गरेको हो ।
खेतियोग्य जमिन बाँझो नराख्ने नीति लिएको तिलोत्तमा नगरपालिकाले यो सिजनमा करिव एक सय ७० मेट्रिक टन गहुँको बीउ अनुदानमा वितरण गर्ने योजना बनाएको छ ।
कृषि उत्पादकत्व बढाउने रणनीति अनुसार किसानलाई गहुँको बिऊमा ४० प्रतिशत अनुदान दिइएको नगरप्रमुख बासुदेव घिमिरेले बताए ।
किसानको मागका आधारमा भलवारीस्थित कृषिसेवा केन्द्रबाट भृकुटी, आदित्य, विजय, एनएललगायतका उन्नत जातको बीउ बितरण सुरु गरिएको छ ।
तिलोत्तमाको १३, १४, १६ र १७ मा गहुँको उत्पादन बढी हुने गरेको छ । गहुँको पकेट क्षेत्रसमेत रहेको तिलोत्तमाका किसान पनि अनुदानमा बिउ पाएपछि उत्साहित देखिन्छन् ।
अनुदानमा नगरपालिकाले उन्नत विउ दिएपछि बाझो राखेका किसानहरुले खेती गर्न थालेका छन् भने उन्नत बीउले उत्पादन राम्रो र जोखिम कम हुने हुनाले पनि गहु खेतीप्रति कृषक आकर्षित भएका हुन् ।
गत वर्ष ५२ मेट्रिक टन बिऊ वितरण गरेको तिलोत्तमा नगरपालिकाले किसानको माग बढेपछि यसपाली १७० मेट्रिक टन बीउ अनुदानमा बाड्न थालेको हो ।
यो बर्ष गहुँको उत्पादन २५ प्रतिशतभन्दा धेरैले वृद्धि गर्ने नगरपालिकाको लक्ष्य छ ।








प्रतिक्रिया दिनुहोस्