Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


रिजालले दिए दाहाललाई यस्तो जवाफ


0
Shares

प्रदीप पौडेल (इमेज)

पोखरा, मंसिर ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले खेमराज पौडेललाई सांसद बनाएर संसदमा लिएर जाने दाबी गरेका छन् ।

बुधबार पोखरामा नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा रिजालले ‘भ्रष्टाचार, महँगीविरुद्ध’ कास्कीका जनताले रुखमा मतदान गर्ने दाबी गरे ।

‘योपटक पक्कै जित्छौं’–उनले भने ।

दाहाललाई जवाफ

उनले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको टिप्पणीले कांग्रेसका उम्मेदवारको उचाइ बढेको जिकिर पनि गरे ।

बुधबारै दिउँसो पोखरामा आयोजित नेकपाको चुनावी सभामा दाहालले कास्की क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खेमराज पौडेललाई ‘देवघाटमा जाने उमेरमा भोट माग्न हिँडेको’ भनी टिप्पणी गरेका थिए ।

‘हाम्रो प्रधानमन्त्रीलाई कहिले–काहीँ बिदा दिनुपर्छ भनेकाहरुले विचरा ७७ वर्षको बूढालाई अघि सारेका छन्’–उनले भनेका थिए–‘जो अब देवघाटतिर जानुपर्ने बेलाका छन् ।’

‘८० वर्षका स्व. गिरिजाप्रसाद कोइरालाले दाहाललाई शान्ति–प्रक्रियामा ल्याएकाले संसदमा पनि पाको उमेरका पौडेलको आवश्यकता महसुस गरेको’ रिजालले घुमाउरो प्रतिक्रिया जनाए ।

दुई हप्तादेखि निर्वाचनको तयारीका लागि पोखरामा रहेका नेता रिजाल कास्की क्षेत्र नम्बर–२ का कांग्रेसका चुनावी ‘कमान्डर’समेत हुन् ।

लोकतन्त्र सिद्धाउने खेलमा लागेको आरोप

कास्की–२ का आफ्ना उम्मेदवार पौडेल ‘निष्ठाको सगरमाथा’ भएको उनको भनाइ थियो ।

कम्युनिस्ट सरकारले संवैधानिक परिषद्माथि हस्तक्षेप गरेर लोकतन्त्रलाई सिद्धाउने खेलमा लागेको आरोपसमेत उनले लगाए ।

संविधान र लोकतन्त्रलाई जोगाउनका लागि पनि कांग्रेसले उपनिर्वाचन जित्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठने गरी कसैले पनि कुनै गतिविधि गर्न नहुने उनले उल्लेख गरे ।

‘तीनै तहका निर्वाचन कांग्रेसको नेतृत्वमा सम्पन्न भयो । तर, कसैले औंलो ठडाउन सकेन’–उनले भने–‘आफू हार्ने जान्दा–जान्दै पनि कांग्रेसले निष्पक्ष निर्वाचन गरायो ।’

यो पनि पढ्नोस्

दाहालले भने–‘विचरा, ७७ वर्षको बूढालाई अघि सारेका छन्…’