७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नायब सुब्बाले थुपारे १५ करोड स्रोत नखुलेको सम्पत्ति


0
Shares

काठमाडौं, मंसिर १० । सरकारी जागिरमा प्रवेश गर्ने भनेकै नागरिकलाई सरल र सहज सेवाका लागि हो । नागरिकको सेवा गरेवापत् राज्यले कर्मचारीलाई तलब सुविधा दिएको हुन्छ ।

तर, सरकारी सेवामा रहँदा पदीय दुरुपयोग गरेर अकुत सम्पत्ति कमाउन लाग्नेलाई नेपाली समाजले ‘पाप’ गरेको ठान्छ ।

यस्तै भएको छ, मालपोत कार्यालय सिमरामा कार्यरत् नायब सुब्बा मदनप्रसाद गुप्तालाई ।

राज्यले दिएको तलब सुविधाभन्दा गलत काम गरी अकुत सम्पत्ति थुपार्ने लोभ गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फेलामा परेका छन्, गुप्ता ।

मालपोत कार्यालयको निमित्त प्रमुखकोसमेत जिम्मेवारी सम्हालेका गुप्ताले २०४७ असार २७ गतेदेखि २०६४ सालसम्म वैधानिकरूपमा कमाएकोभन्दा बढी स्रोत नखुलेको सम्पत्ति थुपारेको आरोपमा अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गुप्ताको वैध आय रु चार करोड ५४ लाख ७२ हजार २४६ रहेको छ । तर, आयोगले गरेको अनुसन्धानमा गुप्ताको स्रोत नखुलेको सम्पत्ति रु १४ करोड ८१ लाख ८९ हजार २३ रहेको पाइएको छ ।

आयोगको अनुसन्धानअनुसार गुप्ताको कुल सम्पत्ति रु १९ करोड ३६ लाख ६१ हजार १६९ रहेको छ ।

आयोगले गुप्ताकी श्रीमती रिता देवी, छोराहरु विक्की गुप्ता र रक्की गुप्ता, अवैध सम्पत्ति लुकाउन सहयोग पु¥याउने निरजकुमार गुप्ता, जुगुली प्रसाद र जगतनारायण यादवविरुद्धसमेत मुद्दा दायर गरेको छ ।

पदीय दुरुपयोग गरेर गुप्ताले पेट्रोलपम्प, पसललगायतमा लगानी गरेको पाइएको छ ।

प्रहरी नायब निरीक्षकविरुद्ध मुद्दा

यस्तै, शान्ति–सुरक्षा कायम गराउने र गलत काम गर्न रोक लगाउने नेपाल प्रहरीका कर्मचारीले नै घुस लिएको अभियोग लागेपछि मंगलबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गञ्जभवानीपुर, बारामा कार्यरत् प्रहरी नायब निरीक्षक जटाशंकरप्रसाद कलवारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ ।

भारतबाट मालसामान ल्याउन सहज गरिदिने भन्दै उनले सोवाग्राहीबाट रु ६० हजार घुस लिएको अभियोग लागेको छ ।

आयोगले घुस लिएको रकम बराबरको बिगो दायर गरी मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । रासस