Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


सडक जाम: ८ किलोमिटर पार गर्न २ घण्टा


0
Shares

काठमाडौं । डल्लुबाट पुल्चोकस्थित कार्यालय जान बिहान ९ बजे बस चढेका विवेक रेग्मीलाई १० बजे कार्यालय पुग्न धौधौ पर्छ ।

कहिलेकाहीँ डेढ घण्टासम्मको समय लाग्ने गरेको उनको अनुभव छ । ‘जामले तीन किलोमिटरको दूरीमा रहेको कार्यालय पुग्न पनि डेढ घण्टासम्म लाग्छ,’ रेग्मीले भने । यसबीचमा टेकु, त्रिपुरेश्वर र थापाथलीको जामले यो रुट भई यात्रा गर्ने यात्रु सधंै सास्तीमा पर्ने गरेका छन् ।

सोह्रखुट्टेदेखि पेप्सिकोला कार्यालय आउजाउ गर्ने प्रकृति अधिकारीलाई पनि सधैं जामको समस्याले पिरोल्छ । झन्डै आठ किलोमिटर सडक पार गर्न उनलाई दुई घण्टा बढी समय लाग्छ ।

यस क्रममा सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, सिंहदरबार, माइतीघर, बानेश्वर, कोटेश्वरलगायतका स्थानमा हुने जाम छिचोलेर कार्यालय पुग्नु उनको दैनिकी बनेको छ ।

‘दैनिक चार घन्टा बढी समय सडकका लागि छुट्याउनुर्छ,’ उनले भनिन् । यस क्रममा कोचाकोच सवारीमा धुलोधुवाँले भरिपूर्ण सडकमा भोग्नुपर्ने सास्ती पनि उस्तै रहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकामा धेरैजसो यात्रुले दैनिकजसो बिहान ९ देखि ११ र दिउँसो ३ बजेदेखि बेलुकी ७ बजेसम्मको समयमा यस्तै जामको सास्ती खेप्नुपर्ने अवस्था छ । राजधानी दैनिकबाट