Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


‘सीमा अतिक्रमणविरुद्ध सबै जनता सडकमा ओर्लिनुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा विवादको विषयमा सबै राजनीतिक दल एकजुट बनेको भन्दै सरकारलाई साथ दिनुपर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मेचीदेखि महाकालीसम्मका सबै जनता सडकमा ओर्लेर सीमा अतिक्रमणविरुद्ध सिंगो देश एकजुट भएको सन्देश दिनुपर्ने बताए ।

उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक पहलबाटै समस्या समाधान गर्न सम्भव हुने भन्दै उनले सीमा अतिक्रमण भएकै बेला चुप लागेर बस्नु नै गल्ती भएको बताए ।

‘कालापानीबाट भारतीय फौज हटाएरमात्रै वार्ता’

कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले कालापानीबाट भारतीय फौज हटाएरमात्रै भारत सरकारसँग वार्तामा बस्नुपर्ने बताए ।

सीमा क्षेत्रका जनताको सुरक्षा र संरक्षण अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।

‘वार्ताबाट समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालत’

वरिष्ठ अधिवक्ता डा. युवराज संग्रौलाले सरकारसँग आधिकारिक नक्सासमेत नभएको भन्दै ‘वार्तामा बस्दा के लिएर जाने हो ?’ भन्ने प्रश्न गरे ।

विज्ञहरुको टिमसमेत सरकारले तयार पार्न नसकेको भन्दै उनले वार्ताबाट समस्या समाधान नभए अन्तर्राष्ट्रिय अदालत जानुपर्ने बताए ।

डा. संग्रौलाले नापी विभागलाई रक्षा मन्त्रालयअन्तर्गत् राखेर सीमाको निरन्तर अनुगमन र संरक्षण गर्नुपर्ने सुझाव पनि दिएका छन् ।