
रौतहट, कात्तिक २९ । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलम पुर्पक्षका लागि जेल चलान भएका छन् ।
पहिलो संविधानसभाको निर्वाचनकाक्रममा बम विस्फोटमा परी घाइते भएकाहरुलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेका आलमलाई रौतहट जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश दीपक ढकालको एकल इजलासमा ८ दिन चलेको थुनछेक बहसपछि शुक्रबार अदालते आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएलगत्तै उनलाई रौतहट जिल्ला कारागार चलान गरिएको हो ।
आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोटन गरी तीनओटा मुद्दा लागेको छ ।
जिल्ला अदालतमा ८ दिनसम्म चलेको बहसमा दुवै पक्षका कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
थुनछेक बहसको अन्तिम दिन शुक्रत्रबार मृतक त्रिलुकप्रताप सिंहका बुवा श्रीनारायण प्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिइएको थियो । आरोपी आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिइएको थियो ।
वि.सं. २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो रात चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका युवाहरुलाई जलाएर मारेको अभियोग लागेको छ ।
चुनावमा बुथ कब्जा गर्न ल्याइएको बम विस्फोट भएको र सोही विस्फोटनमा करिब दुई दर्जन मानिस घाइते भएको दाबी गरिएको छ ।
घटना लुकाउन विस्फोटमा मारिएका तथा घाइते भएकाहरूलाई गाउँनजिकैको आलमका आफन्तको इँटाभट्टामा जलाएको पीडितपक्षको जाहेरीपछि आलम पक्राउ परेका थिए ।
विस्फोटबाट क्षति पुगेको घर राति नै मर्मत गरिएको, मृतक तथा घाइतेलाई जलाइएको भनिएको इँटाभट्टा घटनाको केही वर्षपछि बन्द भएको थियो । अहिले सो स्थानमा धानखेती छ ।
भारतीय अपराधिक व्यक्तिहरुलाई प्रयोग गरी विस्फोटका घाइतेहरु तथा मृत्यु भएकाहरुलाई बोरामा राखी ट्याक्टरमा ओसारेर इँटाभट्टामा जलाएको अभियोग आलममाथि छ ।
१२ वर्षअघिको घटनामा आलमलाई पक्राउ गरी कानुनी कारबाही गर्न सात वर्षअघि नै सर्वोच्च अदालतले आदेश दिएको थियो ।
रौतहट–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित आलम गएको असोज २७ गते पक्राउ परेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि पनि आलम दुईपटक संसद सदस्यमा निर्वाचित भए ।
यो घटनामा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अरु १० जना भने फरार छन् ।
प्रतिक्रिया दिनुहोस्