
रौतहट, कात्तिक २९ । हत्या अभियोग लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ ।
जिल्ला अदालत रौतहटमा प्रतिवादीका तर्फबाट शुक्रबार १० जना अधिवक्ताले बहस गरे । योसँगै आलमको पक्षमा २८ जना अधिवक्ताले बहस गरेका छन् ।
प्रतिवादीका तर्फबाट बहस सकिएपछि वादीका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी र जिल्ला न्यायाधिवक्ता खगेन्द्रराज कटवालले बहस गरेका थिए ।
यस्तै, कर्तव्य ज्यान मुद्दाको जाहेरवालाका तर्फबाट सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए ।
जिल्ला न्यायाधीश दीपक ढकालले कर्तव्य ज्यान मुद्दाका जाहेरवाला मृतक त्रिलुकप्रताप सिंहका बुवा श्रीनारायणप्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिएका थिए । अभियुक्त आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिइयो ।
बहस सकिएसँगै अब आलमको थुनछेक मुद्दाको आदेश शुक्रबारै हुने सम्भावना रहेको छ ।
अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ ।
आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अरु १० जना भने फरार छन् ।
आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ ।
वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।
प्रतिक्रिया दिनुहोस्