
सर्लाही, कात्तिक २७ । सर्लाहीको चक्रघट्टामा एक महिलाको हत्या गरिएको छ ।
हत्या आरोपमा चक्रघट्टा गाउँपालिका–४ की ३५ वर्षीया कोरैसा खातुनलाई मंगलबार साँझ प्रहरीले पक्रेको छ ।
उनले आफ्नै सौता २२ वर्षीया खुर्सिदा खातुनको हत्या गरेको प्रहरीले जनाएको छ ।
पराल काट्ने फलामको धारिलो हतियारले खुर्सिदाको हत्या गरिएको हो । हत्यापछि उनको शव झोलामा हालेर फाल्ने तयारी गरिएको थियो ।
तर, त्यहीबीचमा प्रहरी पुग्यो । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी सुन्दरपुरबाट प्रहरीको टोली खटिएको थियो ।
प्रहरीले कोरैसालाई पक्राउ गर्यो । घरको छतबाट हामफालेर भाग्न खोज्दै गर्दा उनलाई पक्रेको घटनास्थलमा पुगेका प्रहरी निरीक्षक रामकिशोर साहले जानकारी दिए ।
प्रहरीले झोलामा हालेर फाल्न लागेको अवस्थामा शवसमेत बरामद गर्यो ।
हत्यामा प्रयोग गरिएको हतियार भर्याङमुनि लुकाएको अवस्थामा बरामद गरिएको प्रहरीले जनाएको छ ।
छिमेकीकाअनुसार कोरैसा र खुर्सिदाबीच घरायसी विवादमा पटक–पटक झगडा हुने गरेको थियो ।
उनीहरुका श्रीमान् शेख बलाल वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन् ।
कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ । थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताए ।
प्रतिक्रिया दिनुहोस्