९ भाद्र २०८२, सोमबार | Mon Aug 25 2025


डा. केसीद्वारा अनशन स्थगित, ‘अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु’


0
Shares

डडेल्धुरा, कात्तिक २६ । डा. गोविन्द केसीले मंगलबार अपराह्न अनशन स्थगित गरेका छन् ।

डा. केसीले कालापानीको विषयलाई समर्थन गर्दै अनशन स्थगित गरेको बताएका छन् ।

चिकित्सा शिक्षा क्षेत्र सुधारलगायतका माग राख्दै विगत ९ दिनदेखि उनी डडेल्धुरामा अनशनरत् थिए ।

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भू–भाग भारतमा समेटिएको समाचारले अन्य नेपालीजस्तै आफू पनि स्तब्ध भएको डा. केसीको तर्फबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रियताजस्तो संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहेको विषयलाई मनन् गर्दै सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको जनाइएको छ ।

प्रेस विज्ञप्ति

दूरदराजमा बस्ने विपन्नलगायत सबै नागरिकको सुलभ, सस्तो वा निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो, गुणस्तरीय चिकित्सा वा स्वास्थ्य शिक्षा पाउने अधिकारका लागि हामी लामो समयदेखि लडिआएका छौं ।

यसैक्रममा सरकारसमक्ष विभिन्न सातबुँदे माग राखेर यही कात्तिक १७ गतेदेखि सत्याग्रहरत् छौं । यहीबीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भू–भाग भारतमा समेटिएको छ । यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु ।

सीमा रक्षा राष्ट्रियताको पहिलो शर्त हो । सबल र आत्मसम्मानपूर्ण राज्यका लागि सीमा रक्षामात्रै काफीचाहिँ छैन । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा र स्वास्थ्य उपलब्ध हुने तथा विनाभेदभाव र विनाभय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुनसक्छ ।

आम नागरिकमा राष्ट्रियताको भावना बलियो हुनु राम्रो हो । तर, सत्तामा हुनेहरुले राष्ट्रियताको बहाना पारेर कर्तव्यच्यूत हुने, गलत काम गर्ने तथा फरक मतमाथि दमन गर्नका लागि अभिव्यक्ति स्वतन्त्रता खुम्च्याउने काम गरे भने त्यो स्वीकार्य हुँदैन ।

त्यसैले अहिले नेपालको पश्चिमी सीमा मिचिएको विषयमा राजनीतिक शक्तिहरुबीच जुन अभूतपूर्व तदारुकता देखिएको छ, त्यो देखावटीमात्र नभइ कूटनीतिक माध्यमबाट मिचिएको भूमि फिर्ता गर्नमा केन्द्रित होस् र त्यो प्रयासले परिणाम निकालोस् भन्ने चाहन्छौं । त्यसको अर्थ राज्यले गर्नैपर्ने बाँकी काम र जिम्मेवारीबाट उन्मुक्ति पाउने भन्ने किमार्थ हुँदैन ।

चिकित्सा शिक्षा क्षेत्रमा भएको १० अर्ब ठगीका अभियुक्तलगायतलाई न्यायको कठघरामा ल्याउने जिम्मेवारीबाट सरकार कसै गरेपनि तर्कन सक्दैन ।

राष्ट्रियताको संवेदनशील विषयमा देशभरमा जनस्तरबाट आवाज उठिरहँदा उहाँहरुको संवेदनालाई हृदयंगम गर्दै हाल जारी सत्याग्रह तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं ।

तर, स्वास्थ्य र चिकित्सा शिक्षा सुधार तथा सुशासनका लागि हाम्रो लडाइँ जारी रहने तथा सरकारले हाम्रा माग पूरा नगरेको खन्डमा पुनः सत्याग्रहसहितका आन्दोलनका कार्यक्रम ल्याउने जानकारी पनि गराउँदछौं ।

हामीलाई यस सत्याग्रहकाक्रममा हृदयदेखि सहयोग गर्ने तथा हाम्रो अभियानसँग जोडिने देशभरका सबै नागरिकहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं ।

डडेल्धुरा, बैतडी र डोटीलगायत सुदूरपश्चिमका सबै जिल्लाका आम नागरिक, डडेल्धुरा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु, स्थानीय पत्रकारहरु, पेसागत संघ–संगठनका सदस्यहरु, उद्योगी–व्यवसायीहरु, यातायात व्यवसायी, मजदुरहरुलगायतप्रति विशेष कृतज्ञता व्यक्त गर्दछौं ।

डा. गोविन्द केसी

डडेल्धुरा

२०७६।७।२६