
सञ्जय कार्की (इमेज)
रौतहट, कात्तिक २६ । रौतहटको ईशनाथ नगरपालिकामा रहेको मठिया प्रहरीचौकीमा मंगलबार दिउँसो सुतली बम प्रहार गरिएको छ ।
बीआर०५एच ८६५९ नम्बरको मोटरसाइकलमा आएका दुईजना भारतीय नागरिकले प्रहरीचौकीमा सुतली बम प्रहार गरेको जनाइएको छ ।
घाइते
बम प्रहारबाट ‘सेन्ट्री’ बसेका प्रहरीजवान रन्जीतप्रसाद यादव सामान्य घाइते भएका छन् । उनको ढाडमा बमको छर्रा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सो प्रहरीचौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरी खटिएका थिए । अरु पाँचजना प्रहरी सकुशल छन् ।
सामान्य घाइते यादवको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।
पक्राउ
बम प्रहारबाट सो स्थानमा रहेको एउटा खसी मरेको जनाइएको छ ।
बम प्रहार गरेर भाग्दै गरेको अवस्थामा नेपाल–भारतको दशगजा क्षेत्रबाट भारतको बिहार, ढाका निवासी चन्दनकुमार रामलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए ।
बम प्रहार गर्ने अर्का एकजना भने फरार छन् । बम प्रहार गर्नेले प्रयोग गरेको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्