७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


आलम प्रकरणः सरकारी साक्षीले बयान फेरे


0
Shares

रौतहट, कात्तिक २५ । राजपुरमा बम विस्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताव आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

वि.सं. २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विस्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशंकर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विस्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नैलाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो ।

सरकारी साक्षीकारुपमा रहेका चमारले बयान फेर्दै अदालतमा आएपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

चमार राजपुरमा भएको बम विस्फोटमा घाइते भएका सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।

अचानक फेरियो बयान

यसअघि, विस्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली कांग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबारै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् ।

प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् ।

आलम सर्मथकद्वारा मौनजुलुस

यसैगरी, आलमका सर्मथकले गौरमा विशाल मौनजुलुस प्रदर्शन गरेका छन् ।

आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो संख्यामा सोमबार दोस्रोपटक मौनजुलुस निकालेका हुन् ।

आलमको निःशर्त रिहाइको माग गदै मौनजुलुस लिकालिएको जुलुसमा सहभागी कांग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीले बताए ।

बीपीचोकबाट निस्केको जुलुस जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुंगिएको गिरीले जानकारी दिए । यसअघि पनि यसैगरी मौनजुलुस निकालिएको थियो ।

कांग्रेसका केन्द्रीय तहका नेताले कानुनलाई सहयोग गर्न भनेपछि यहाँका नेता तथा कार्यकर्ताले दुईपटक गौरमा मौनजुलुस प्रदर्शन गरेका हुन् ।

गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विस्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो । रासस