काठमाडौं, कात्तिक २५ । कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत् नेपाल र कुवेतबीचको खेल भुटानमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने तय भएको जनाएको छ ।
विश्वकप छनोटअन्तर्गत् नेपालको पहिलो ‘होम’ खेलकोरुपमा रहेको उक्त खेल यसअघि दशरथ रंगशालामा आगामी मंसिर ३ गतेका लागि तय भएको थियो ।
अन्तर्राष्ट्रिय मापदन्ड नपुगेको भन्दै एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई खेलस्थल परिवर्तन गर्न निर्देशन दिएको थियो ।
एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ ।
दशरथ रंगशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो ।
विश्वकप छनोटमा नेपाल समूह ‘बी’मा रहेको छ । छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ ।
नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो । नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो । त्यसपछि नेपाल अष्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो । रासस





प्रतिक्रिया दिनुहोस्