Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


झापामा आर्मी च्याम्पियन, पायो १२ लाख ५० हजार


0
Shares

विशाल नेम्वाङ (इमेज)

झापा, कात्तिक २५ । ‘अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडमाथि २–० को जित निकाल्दै विभागीय टोली आर्मी च्याम्पियन बनेको हो ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा खेल भएको थियो ।

आर्मीलाई विजेता बनाउन कप्तान टेकबहादुर बुढाथोकी नायक सावित भए । दुवै गोल उनलै गरे ।

खेलको ३२औं मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । टंक बस्नेतले मिलाइदिएको पासमा पेनाल्टी एरियामा ‘अनमार्क’ रहेका उनले ‘ग्रास सुट’ गर्दै गोल गरेका थिए ।

त्यस्तै, एक्लो प्रयासमा उनले खेलको ८०औं मिनेटमा दोस्रो गोल थपे । चर्च ब्वाइजका गोलरक्षक विनय श्रेष्ठसँग ‘वान भर्सेज वान’मा बललाई दोस्रो बारतर्फ ‘चिप’ गर्दै उनले गोलपोस्टको दिशा दिएका हुन् ।

खेलको ५८औं र ८३औं मिनेटमा गरी दोहोरो पहेंलो कार्ड पाउँदै चर्च ब्वाइजका राजेन्द्र रावल मैदानबाट बाहिरिए ।

उपाधिसँगै आर्मीले १२ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पायो । उपविजेता बनेको चर्च ब्वाइजले ६ लाख २५ हजारमा चित्त बुझायो ।

यी हुन् उत्कृष्ट

प्रतियोगिताकै उत्कृष्ट खेलाडी आर्मीका कप्तान टेकबहादुर बुढाथोकी घोषित भए । उनले ५० हजार रुपैयाँ र एकथान एलइडी टीभी पाए ।

यस्तै, आर्मीकै टंक बस्नेत उत्कृष्ट फरवार्ड, आर्मीकै दीपक गुरुङ उत्कृष्ट डिफेन्डर, आर्मीकै विवश चौधरी उत्कृष्ट गोलरक्षक र आर्मीकै नवीन न्यौपाने उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट मिडफिल्डर भने चर्च ब्वाइजका सुनिल खड्का बने । उनीहरुले जनही १५ हजार रुपैयाँ पुरस्कार पाए ।

फाइनल खेलको ‘म्यान अफ दी म्याच’ चर्च ब्वाइजका अशोक खवास घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईले नगद तथा ट्रफी प्रदान गरेका थिए ।

भारतका दुईसहित १० ओटा टोली सहभागी गोल्डकप बिर्तामोडको जायोन सपोर्ट्स क्लबले आयोजना गरेको थियो ।