Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


काठमाडौंमा आज र भोलि ६० र ६१ वर्षकालाई कोरोना खोप लगाइने, यी ठाउँमा लगाइन्छ खोप


0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ ।

केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित भएको कार्यक्रम आजदेखि दुई दिन सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६० र ६१ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउन सुरु गर्न जिल्ला स्वास्थ्य कार्यालय काठमाण्डौले परिपत्र गरेअनुसार पुनः खोप कार्यक्रम सञ्चालन गर्न लागिएको महानगरपालिकाको सहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

उहाँका अनुसार वीर अस्पताल, महाराजगञ्जमा रहेको शिक्षण अस्पताल, छाउनीमा रहेको वीरेन्द्र सैनिक अस्पताल र नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पतालमा गएर खोप लगाउन सकिनेछ ।

आज देखि चल्ने खोप कार्यक्रममा ६० र ६१ वर्ष उमेर समूहका व्यक्तिसहित यसअघि भेरोसेलको पहिलो मात्रा लगाएकाहरू, स्वास्थ्यकर्मी, कोरोना सङ्क्रमितको प्रत्यक्ष जाँच, उपचार र हेरचाहमा संलग्न चिकित्सक, नर्स र प्यारामेडिक विद्यार्थी स्वास्थ्यकर्मीले पनि खोप पाउनेछन् ।

खोप बिहान १० देखि दिउँसो ४ बजेसम्म लगाउन पाइने महानगरपालिकाले जनाएको छ ।