काठमाडौं, कात्तिक २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको छ ।
बैठकमा मंसिर १४ गते हुने उपनिर्वाचन, मन्त्रिपरिषद पुनर्गठन र भारतसँगको सीमा विवादबारे छलफल भइरहेको जनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको बताइएकै बेला बसेको बैठकले यस विषयमा छलफल हुने बताइएको हो । यसैबारेमा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि छलफल गरिसकेका छन् । यसअघि प्रधानमन्त्री ओलीले सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन भनेका थिए ।
साथै १४ मंसिरमा हुन लागेको उपनिर्वाचनका सन्दर्भमा नेकपा कार्यकर्ताबीच बाग्लुङ, भक्तपुरलगायतका जिल्लामा अस्तोष देखिएको छ । त्यसबारे पनि छलफल हुने बताइएको छ ।
बैठकमा भारतले नेपाली भूभाग उसको नक्शामा पारेको विषयमा पनि छलफल हुने छ । भारतले कालापानी र लिपुलेकलाई आफ्नो क्षेत्रमा पारेर नयाँ नक्शा सार्वजनिक गरेकोमा नेपालका मूख्य राजनीतिक दलले आपत्ति जनाइसकेका छन् ।









प्रतिक्रिया दिनुहोस्