Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


संसदीय समितिले बोलायो प्रधानमन्त्री ओलीलाई


0
Shares

काठमाडौं । भारतसँग भएको नक्सा विवादबारे छलफल गर्न संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको छ ।

सांसदहरुले भारतले जारी गरेको नयाँ नक्साबारे प्रधानमन्त्री ओलीसँग छलफलको माग गरेपछि भोलीको बैठकमा सहभागी हुन प्रधानमन्त्री ओलीलाई बोलाएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।

भारतीय नयाँ नक्सामा नेपाली भूभाग (लिपुलेक, कालापानी) परेको भन्दै नेपालमा सर्वत्र विरोध भइरहेको छ । तर, भारतले नेपाली भूभाग नपरेको दाबी गर्दै आएको छ । यस विषयमा सरकारको आधिकारीक धारणा माग्न प्रधानमन्त्री ओलीलाई समितिले बोलाएको हो ।

समितिले नेपालको भूभागलाई आफ्नो देशको नयाँ नक्सामा भारतले समावेश गरेको सभापति श्रेष्ठले जानकारी दिइन् ।

उनले सिमा विवादका विषयमा प्रधानमन्त्री ओलीसहित सम्बद्ध सरोकारवाला पक्षसँग समेत छलफल गर्ने बताइन्  ।

प्रधानमन्त्री ओलीले हिजो सर्वदलीय, सर्वपक्षीय बैठक बोलाएका थिए । सर्वदलीय बैठकले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको निष्कर्ष निकाल्दै नेपाली भूभाग फिर्ता ल्याउने पहल गर्न सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका थिए ।

यसैबीच संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि भारतीय नयाँ नक्साका विषयमा छलफलका लागि बोलाएको छ । यसअघि सरकारले विज्ञप्तीमार्फत उक्त भूभाग नेपालकै रहेको दावी गरेको थियो ।