Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


राष्ट्रपतिको भूमिका विवादास्पद भएको कांग्रेस जिल्ला सभापतिहरुको आरोप


0
Shares

काडमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका सन्तुलित नभएको बताएका छन् ।

जिल्ला सभापतिहरुले विज्ञप्ति जारी गरेर असन्तुलित र द्वैध भूमिका राष्ट्रपतिले देखाएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कांग्रेसका सभापति एवं तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन घोषणा भएको कारण देखाएर मन्त्रिपरिषद पुनर्गठन गर्न सहमति नदिने, राष्ट्रियसभाका लागि सिफारिस गरेका नाम जारी नगर्ने तर अहिले त्यसको ठीक विपरीत कामचलाऊ प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल हेरफेर, विस्तारमा सहयोग पु¥याउने कुरा एकदमै दुर्भाग्यपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै उनीहरूले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति पनि आपत्तिजनक भएको भन्दै विरोध जनाएका छन् ।

पार्टीको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्न केन्द्रलाई दबाब दिने निर्णय भएको छ ।

कांग्रेसले भदौमा महाधिवेशन गर्ने भने पनि अहिलेसम्म सबै जिल्लामा क्रियाशील सदस्यता वितरण गरिसकेको छैन ।

६१ जिल्लामा मात्रै क्रियाशील सदस्यताको काम भएका छन् अरूमा टुंगिएको छैन ।

कांग्रेसका जिल्ला सभापतिहरूको भर्चुअल बैठकले महाधिवेशन गर्न केन्द्रको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

सबै जिल्ला सभापतिहरूको तर्फबाट १० बुँदे विज्ञप्ति सार्वजनिक गर्दै नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले महाधिवेशनका लागि केन्द्रलाई ज्ञापन पत्र बुझाइने उल्लेख गर्नुभएको छ ।