१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


निषेधाज्ञामा पनि किन बढिरहेको छ संक्रमितको संख्या ?


0
Shares

प्रज्ञा तिमल्सीना

काठमाडौं, जेठ २१ । कोरोना संक्रमणको दोस्रो लहरलाई नियन्त्रण गराउन सरकारले निषेधाज्ञा गरेको एक महिना भईसकेको छ ।

निषेधाज्ञापछि पनि संक्रमितको संख्या उल्लेख रुपमा घट्न सकिरहेको छैन । अहिले पनि दैनिक परीक्षणको तुलनामा ३० प्रतिशत व्यक्ति संक्रमित हुने गरेका छन् । निषेधाज्ञापछि पनि किन बढिरहेको छ त संक्रमितको संख्या ?

गत चैत्रको दोस्रो सातादेखि विस्तारै उकालो लागिरहेको संक्रमितको संख्या नियन्त्रण गराउन सरकारले वैसाख १६ गते देखि निषेधाज्ञा लागु गराईरहेको छ ।

पटक-पटक गरी थपिएको निषेधाज्ञाको अवधि जेठ अन्तिमसम्म पुगिसकेको छ ।

एक महिना भन्दा लामो समयको निषेधाज्ञाको विचमा पनि नेपालमा संक्रमितको संख्यामा उल्लेख्य कमी आउन सकेको छैन् ।

हाल दिनहु परीक्षण गरिएका मध्ये ३० प्रतिशत व्यक्ति संक्रमित हुने गरेका छन् ।

यद्यपी जेठ महिना लागे यता संक्रमितको संख्यामा केही कमी आएको भने देखिएको छ ।

तर परीक्षणको तुलनामा १० प्रतिशत भन्दा बढी संक्रमित भेटिए भने जोखिम कायम नै रहेको बुझिन्छ ।

निषेधाज्ञाको विचमा पनि किन बढिरहेको छ त संक्रमितको संख्या भनेर हामीले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शेरवहादुर पुनलाई सोधेका थियौं ।

शहरी क्षेत्रमा कोरोना संक्रमितको संख्या कम भएको जस्तो देखिए पनि गाउँतिर सोचेको जति कम हुन सकेको छैन् । संक्रमितले परिवारमा कति र कसरी संक्रमण सार्‍यो भन्नेमा पनि र्भर पने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका चिकित्सक डा. शेरवहादुर पुन बताउनुहुन्छ ।

निषेधाज्ञा लागु भए यता बैसाख १६ देखि जेठ २१ गतेसम्म २ लाख ६५ हजार भन्दा बढी व्यक्तिमा जनामा संक्रमण देखिएको छ ।

सो अवधिमा ४ हजार ३ सय ८४ जना व्यक्तिको मृत्यु भयो । हाल ४७ जिल्लामा ५ सय भन्दा बढी संक्रिय संक्रमित रहेका छन् भने १३ जिल्लामा २ सय भन्दा बढी संक्रिय संक्रमित छन् ।

सामान्यतः कोरोना संक्रमण दुई सातामा ठिक हुन्छ । निषेधाज्ञाका कारण धेरै व्यक्ति घर भित्र नै छन् । तर पनि १ महिनासम्म संक्रमित र मृत्यु हुनेको संख्या खासै कमी नआउनुको कारण के हो त ?
गाउँमा परिक्षणको दायरा कम भएकाले कोरोनाको संक्रमण धेरै भएको हुनसक्ने डा. पुन बताउनुहुन्छ ।

अस्पतालहरुमा संक्रमितको चाप केही मत्थर त भएको छ ।

तर दिनहु भेटिएका संक्रमितको संख्या शहरी क्षेत्रका भन्दा ग्रामिण क्षेत्रका बढी छन् । जसका कारण संक्रमित प्रतिशतमा खाशै गिरावट आउन सकेको छैन । उच्च प्रतिशतको संक्रमण दरले अहिले पनि जोखिम उतिकै रहेको देखाउँछ ।